बोमलाल गिरी
नवलपुर, कात्तिक १४ गते । हरिबोधनी एवं ठुलो एकादशीमा नवलपुरका विभिन्न स्थानमा लाग्ने मेलामा बिक्रीका लागि सुन्तला टिप्न जिल्लाका किसानलाई भ्याइनभ्याई भएको छ ।
कावासोती –११ को पिठौली र गड्गडीघाट, कावासोती –१५ को गुन्द्रही र बाणखोलाको संगमस्थल, देवचुलीको केउरेनीस्थित नारायाणी नदी किनार र बौदीकालिको डेढगाउँमा रहेको बालिघाटनमा एकादशी मेला लाग्ने गर्छ ।
मेलामा सुन्तलाको व्यापार राम्रो हुने भएकाले किसान सुन्तला टिप्न व्यस्त देखिएका हुन् । बुलिङटार गाउँपालिकाको राइकोट, रामकोट, छरछरे र बौदिकालिको बोबकका किसानले व्यवसायिक रुपमा सुन्तला खेती गर्दैआएका छन् ।
यसवर्ष भने बिहीबारदेखि नै झरी परेको छ । झरीमा पनि किसानले मेला स्थलसम्म सुन्तला लग्ने तयारी गरिरहेका छन् । झरीका कारण सुन्तला धेरै नबिक्ने हो कि भन्ने चिन्तामा किसान देखिएका छन् ।
‘‘सुन्तला गर्मीमा राम्रो बिक्ने गथ्र्यो । यो पटक गर्मी सकिएसँगै निरन्तर पानी पनि परिरहेकाले पोहोर परारको जस्तो सुन्तला नबिक्ने होकि भन्ने चिन्ता लागिरहेको छ’’ राईकोटका सुन्तला किसान पदमबहादुर सिन्जालीले भन्नुभयो ।
यहाँका किसानले राम्रोसँग नपाकेको भए पनि एकादशीलाई लक्षितगरी सुन्तला बेच्ने गर्छन् । एकादशीमा यहाँ सुन्तला सबैभन्दा बढी बिक्री हुनेगरेको अर्का किसान धनबहादुर थापाले बताउनुभयो ।
किसानले यो बर्षको पहिलो फलमा बारीमा प्रतिकिलो ६० रुपियाँमा सुन्तला बिक्री गरेका छन् । गतवर्ष यहाँका किसानले झण्डै नौ करोड रुपियाँ बराबरको सुन्तला उत्पादन गरेका थिए । आर्थिक वर्ष २०८०–८१ मा भने झण्डै ७ करोड १८ लाखको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।
जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागु भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा पनि वृद्धि भएको काफ्लेको भनाइ छ । गतवर्ष दुईसय २६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा १४१ हेक्टर क्षेत्रफलबाट मात्र आम्दानी लिन थालिएको थियो ।
आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा एक हजार २२७ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएकोमा गत आर्थिक वर्षमा एक हजार ४१४ मेट्रिक टन सुन्तला उत्पादन भएको सूचना अधिकारी काफ्लेले बताउनुभयो ।
जिल्लामा हरेक वर्ष सुन्तला खेतीको क्षेत्रफल बढेकाले यो वर्ष पनि उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको विश्वास छ । ‘‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाँडेका बेर्नाले उत्पादन दिन थालेको र फूल खेल्नेबेला क्षति पनि खासै नभएकाले यो वर्ष उत्पादन बढ्ने आँकलन गरिएको छ’’ सूचना अधिकारी काफ्लेले भन्नुभयो ।
अमिला जातका फलफूलको जोन लागू भएपछि किसानले बिरुवामा अनुदानसहित यान्त्रिक तथा प्राविधिक सहयोग पनि पाउने गरेका छन् । जसका कारण पहाडी क्षेत्रमा अन्य खेतीबाट खासै आम्दानी नहुने भएकाले किसानहरू सुन्तला खेतीतर्फ आकर्षित हुनेगरेका छन् ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                