कोकिला ढकाल
इलाम, कात्तिक १४ गते । हिजो बिहानदेखि सुरु भएको वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्कालका लागि सुचारु गरिएको छ । भोलि लोकसेवा आयोगको परीक्षा दिन जाने परीक्षार्थीहरुलाई सहज गराउन अहिलेदेखि भरे साँझ साढे पाँच बजेसम्मका लागि सडक एकतर्फी सुचारु गराइएको हो ।
पहिरो गएको र दबिएको स्थानमा ग्राभेल भरेर तत्कालका लागि सडक सुुचारु गराइएको हो । जिल्ला प्रशासन कार्यालय इलामले एक सुूचना जारी गरि साना तथा जीप र एम्बुलेन्सलाई मात्र भरे साढे पाँच बजेसम्म सञ्चालनका लागि खुल्ला गरिएको र बाँकी सवारीमा रोक लगाइएको जनाएको छ । सडक डिभिजन कार्यालय इलामले आज बिहानैदेखि सडक खुलाउने प्रयास जारी राखेको छ । पहिरो माथि ट्रयाक बनाइएकाले तत्कालको अवस्था टार्नेमात्र काम भएको डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो ।
गएको असोज १८ गते रातीको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोला माथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । यो सडकको विकल्पमा रहेको सिमल गोलाई तिल्केनी सडक पनि अहिले बिहानदेखि बन्द गरिएको छ । यो मार्गबिचमा पर्ने जोगमाई खोलामा हालिएको ह्युमपाइपको बाटो पनि आजको बाढीले बगाएपछि यो सडक बन्द भएको छ ।
पूर्वी पहाड ताप्लेजुुङ, पाँचथर, इलामको लाइफलाइनका रुपमा रहेको मेची राजमार्ग बन्द भएपछि ताप्लेजुङसम्मका सर्वसाधारण समस्यामा छन् । यता इलाममा पानी निरन्तर परेपछि असोज १८ को बाढी पहिरोले धेरै स्थानमा धाँजा फाटेको जमिन बग्न थालेको जानकारी आएको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                