• ६ असार २०८२, शुक्रबार

बिक्न छाड्यो तरकारी

blog

काठमाडौँ, असार ६ गते । पछिल्ला दिनमा उपत्यकाका बजारमा हरिया तरकारी धेरै भित्रिँदा खेर फाल्नुपर्ने अवस्थाले व्यापारी हैरान छन् । उपत्यकावासीको मागभन्दा बढी तरकारी बजारमा भित्रिएपछि खेर फाल्नुपर्ने अवस्थाले व्यापारी हैरान भएका हुन् । 

देशमै सबैभन्दा बढी तरकारी खपत हुने उपत्यकाका बजारमा भित्रिएको तरकारी बिक्री नहुँदा किसान त मर्कामा छन् नै व्यापारीसमेत कारोबार नभएर नोक्सानमा परेको गुनासो गर्न थालेका छन् । 

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारीको संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले केही दिनयता तरकारी नबिकेर हरेक दिन नोक्सान बेहोर्नु परेको गुनासो गर्नुभयो । उहाँले बुधबार मात्रै आफ्नो पसललाई ५५ हजार रुपियाँ नोक्सान भएको र अन्य धेरै व्यापारी पनि नोक्सानमा रहेको बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेका घिरौँला, लौका, तितेकरेला, काँक्रो, हरियो फर्सी, तने बोडी, घिउ सिमी, मुला, सागलगायतका तरकारीको बिक्री कम छ ।

देशको आर्थिक अवस्था कमजोर भएकाले आमउपभोक्ताको क्रयशक्ति कमजोर भएका कारण विगतको तुलनामा तरकारी कम खपत भएको बुझाइ उहाँको छ । विगतका वर्षमा दैनिक एक हजार मेट्रिक टन तरकारी खपत हुने बजारमा हाल करिब छ सय मेट्रिक टन तरकारी आउँदा पनि बिक्री नभएर फाल्नुपर्ने अवस्था आउनु उपभोक्ताको क्रयशक्तिमा धेरै ह्रास आएको स्पष्ट सङ्केत रहेको उहाँको विचार छ । 

अर्का थोक व्यापारी चेतबहादुर थापाको अनुभवमा भने पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछि व्यापारीलाई पनि समस्या भएको बुझाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटी बजारमा हाल धादिङ, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, सिधुपाल्चोक, तराईका बारा, पर्सा, सर्लाही, सिराहालगायतबाट ठुलो परिणाममा हरिया तरकारी भित्रिने गरेको छ । खेतबारीमा हाल लगाएको तरकारी सकिएपछि असारको अन्तिमदेखि भाउ बढ्न सक्ने सम्भावना रहेको उहाँको भनाइ छ । 

समितिका अनुसार बिहीबार लौका प्रतिकेजी १५, घिरौँला २०, तनेबोडी २० रुपियाँमा थोकमा कारोबार भएको छ । यस्तै सेतो मुला प्रतिकेजी १५, भेन्टा लाम्चो १४, तितेकरेला २५ रुपियाँमा कारोबार भएको छ । सस्तोमा तरकारी बेचेर न किसानको लागत उठ्छ न व्यापारीलाई नै फाइदा हुन्छ । दिनहुँ उल्टो नोक्सान भएको थापाको अनुभव छ । बजारमा हाल भारतबाट कागती, प्याज, परबरबाहेक अन्य हरिया तरकारी नभित्रिएको समितिले जनाएको छ । 

नेपालमा उत्पादन भएको तरकारीको हिस्सा ६० प्रतिशत छ । समितिका अनुसार भारतबाट आउने तरकारीमध्ये ठुलो परिमाणमा आलु र प्याज पर्दछ । समितिका प्रवक्ता विनय श्रेष्ठले कालीमाटीमा हरिया तरकारीभन्दा पनि आलु, प्याज र कागती बढी आउने गरेको जानकारी दिनुभयो । 

पछिल्लो पटक भारतबाट हरिया तरकारीमा पाकेको फर्सी, परबर, हरियो केराउ, गाँजर, भिन्डी, भान्टा, ठुलो गोलभेँडा आएको तर यसको परिमाण असाध्यै थोरै रहेको उहाँको भनाइ छ । समितिका अनुसार भारतबाट भित्रिएको आलुले अहिले बजारको मागको ४० प्रतिशत हिस्सा ओगटेको छ भने प्याज त लगभग ९९ प्रतिशत नै भारतकै भर पर्नु पर्छ ।