• १८ असार २०८१, मङ्गलबार

बन्दीपुरमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

blog

चितुवाको आक्रमणबाट मृत्यु भएका बालक।

अमरराज नहर्की

तनहुँ, जेठ ३१ गते। चितुवाको आक्रमणबाट तनहुँमा मङ्गलबार दिउँसो  एक बालकको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका–१ बस्ने प्रेमबहादुर  मगरको पाँच वर्षीय छोरा सुप्रिम रिलामी मगरको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो। 

बन्दीपुरमा शुक्रबार र शनिबार पनि चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएका थिए। यतिबेला चितुवाले बच्चा हुर्काउने बेला भएकोले आहार जङ्गलमा नपाएर मानव बस्तीमा आएको र मानिसलाई आक्रमण गरेको हुनसक्ने डिभिजन वन प्रमुख काफ्लेले बताउनुभयो। 

चितुवाले बालकलाई आक्रमण गरेर लगेपछि घरपरिवार र छिमेकी कराउँदै पछि लागेपछि चितुवाले बालकलाई छाडेर भागेको घटनास्थल पुग्नु भएका बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। चितुवाले घाँटीमा चिथोरे मारेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। शनिबार साँझ र आइतबार बिहान चितुवाले आक्रमण गरेर दुई जनालाई घाइते बनाएको थियो। 

डिभिजन वन कार्यालय तनहुँले सूचना सार्वजनिक गर्दै  बालबालिकालाई एक्लै नछाड्न, घर वरीपरीको झाडी फाड्न, साँझ र झिसमिसे उज्यालोमा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।