काठमाडौँ, जेठ २० गते । भौगोलिक अखण्डता, सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहने हरेक राष्ट्रका सैनिक छिमेकी सेनाप्रति सधैँ चनाखो अनि सशङ्कित हुन्छन् । जल, जमिन र आकाशसमेत आमनेसामने रहने कतिपय छिमेकी मुलुकका सेनाबिच बढ्दो तनावबाट आमसर्वसाधारण बढी पीडित भइरहेका छन् ।
रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन, भारत–पाकिस्तानबिच भएका तनाव पछिल्ला केही उदाहरण हुन् तर अपवादका रूपमा विश्वशान्तिको सन्देश दिने गरी नेपाल–भारतका सैन्य टोलीले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घाको सफल आरोहण गरी अटुट विश्वास, पारस्परिक सहयोग र सहकार्यमार्फत विश्वशान्तिको उदाहरण पेस गरेका छन् ।
नेपाली सेनाका १२ तथा भारतीय सेनाका १२ जना सैनिकको टोलीले यही जेठ ६ र ७ गते कञ्नजङ्घा हिमालको सफल आरोहण गरी सोमबार काठमाडौँबाट दुई देशबिचको सम्बन्ध थप उचाइमा पुगेको घोषणा गरेका हुन् । नेपाल–भारत संयुक्त कञ्चनजङ्घा आरोहण–२०२५ समापन समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्री मानवीर राईले दुई देशबिचको सैन्य तथा सैन्य–नागरिक सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउने अभियान कोसेढुङ्गा साबित हुने बताउनुभयो ।
मन्त्री राईले भन्नुभयो, “नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले पहिलो पटक कञ्चनजङ्घा हिमालको सफल आरोहण गरी दुई देशबिचको सैन्य तथा नागरिक सम्बन्ध थप प्रगाढ बन्ने अपेक्षा गरेका छौँ ।” उहाँले कठिन र चुनौतीपूर्ण मानिने कञ्चनजङ्घा हिमालको सफल आरोहणमार्फत दुई देशका सैनिक टोलीले अटुट विश्वास, सहकार्य र समन्वयको उदाहरण पेस गरेको बताउनुभयो ।
भारतीय सेनाका रथी अजय रामदेवले नेपाल–भारतका सैन्य टोलीको संयुक्त कञ्चनजङ्घा आरोहणमार्फत दुई देशबिचको परम्परागत पारस्परिक सम्बन्धलाई थप प्रगाढ बन्ने अपेक्षा गर्नुभयो । नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले संयुक्त कञ्चनजङ्घाको आरोहणमार्फत पारस्परिक सैन्य सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा व्यक्त गर्नुभयो ।
आरोहणमा नेपाली सेनाका तर्फबाट सेनानी गजेन्द्र देउवा र भारतीय सेनाका तर्फबाट कर्नेल सर्फराज सिंहको नेतृत्वमा २४ जना आरोहीको सहभागिता रहेको थियो । ताप्लेजुङमा अवस्थित नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल दुवै देशका सेनाले पहिलो पटक सफल आरोहण गरेका हुन् । भारतका रक्षामन्त्री राजनाथ सिंह र भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले गत चैत २० गते नयाँदिल्लीस्थित रक्षा मन्त्रालय परिसर शुभारम्भ गर्नुभएको थियो । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सोमबार भएको समापन समारोहमा रक्षामन्त्री मानवीर राई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाली सेनाका उच्च अधिकारी तथा भारतीय सेनाका रथी अजय रामदेवलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।