• १८ जेठ २०८२, आइतबार

पर्यटक तान्ने मार्फाको चुम्बकीय शक्ति

blog

मुस्ताङको गुजुमुज्ज परेको मार्फा गाउँ ।

मार्फा (मुस्ताङ), जेठ १७ गते । सागर छुन कुदिरहेकी कालीगण्डकी, चारैतर्फ हिमाल र हिमालकै फेदीमा गुजुमुज्ज परेर बसेको मार्फाको मौलिक बस्ती । बस्ती आसपास स्याउ, उवा र आलुखेती ! हिमालपारि अर्थात् मुस्ताङ घुमेर फर्केका स्वदेशी हुन् वा विदेशी पर्यटकका मस्तिष्कबाट अक्सर नहट्ने यी दृश्य काल्पनिक स्वर्गसरह पनि लाग्न सक्छ । आधुनिक भौतिक पूर्वाधार देखाएर पर्यटक तान्न प्रतिस्पर्धारत आगरा, आइफिल र बुर्जखलिपाहरूभन्दा कम लाग्दैन धौलागिरि र नीलगिरिको काखमा अवस्थित मार्फा गाउँको परम्परागत मौलिकता ।

ढुङ्गैढुङ्गाले बनेका गुजुमुज्ज घरका छतभरि मिलाएर राखिएका दाउराका चाङ रहेका बस्ती र त्यसको ठिक माथि अवस्थित प्रसिद्ध सम्तेन छोलिङ गुम्बा रहेका छन् । यो दृश्यले मार्फा घर र गुम्बा गजुर जस्तै लाग्न पनि सक्छ । 

थकाली समुदायको आस्थाको धरोहर यो सम्तेन छोलिङ गुम्बाको काखमा रहेको मार्फा गाउँ पर्यटक तान्ने शक्ति हो भन्दा फरक पर्दैन । मुस्ताङ घरपझोङ–२, मार्फाका वडा अध्यक्ष मानबहादुर हिराचन थकाली समुदायको उद्गम मानिने मार्फा गाउँको परम्परागत मौलिकता नै पर्यटकीय आकर्षणको केन्द्र रहेको बताउनुहुन्छ । 

थकाली भन्नुहुन्छ, “थकाली समुदायको मूल थलो ‘थाक खोला’ को मौलिक वास्तुकला मार्फामा देख्न सकिन्छ । यसको मौलिकता जोगाउन थकाली समुदायको प्रयास र स्थानीय निकायको सहकार्यले मार्फा आकर्षक पर्यटकीय गन्तव्य बन्न सफल भएको छ ।” उहाँले अन्नपूर्ण र धौलागिरि पदमार्ग र बौद्ध तथा हिन्दु धर्मालम्बीहरूका लागि पवित्र तीर्थस्थल मुक्तिनाथ, कागबेनीसँगै आदिवासी थकाली समुदायको मौलिक बसोबासका कारण समग्र मुस्ताङ नै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गइरहेको बताउनुभयो ।

मुस्ताङ पछिल्लो समय बाह्य पर्यटक मात्र होइन, आन्तरिक पर्यटकको पनि आकर्षक गन्तव्य बनेको छ । पर्यटकको वृद्धिसँगै लेते, मार्फा, जोमसोमको कालीगण्डकी तटीय क्षेत्रमा सुविधायुक्त होटल र रेस्टुरेन्ट बन्ने क्रम पनि बढेको छ । विशेष गरी प्रसिद्ध मुक्तिनाथ मन्दिर पुग्ने तीर्थयात्री र उपल्लो मुस्ताङ ल्होमन्थाङ हुँदै नेपाल–चीनको कोरला नाका पुग्ने यात्रीहरू लेक लाग्न सक्ने भएकाले मार्फामा बास बसेर अगाडि बढ्ने गर्छन् । थकाली समुदायको मौलिक आतिथ्य र न्यानो सत्कारसँगै मौलिक खाना, स्थानीय मार्फा वाइन, स्याउको सुकुटी, मुस्ताङको आलु, उवाको स्थानीय मदिरा, हिमाली गेडागुडीको दालमा यहाँ आउने पर्यटकहरू रमाउने गरेको स्थानीय होटल व्यवसायी रमिला थकाली बताउनुहुन्छ । रमिलाका अनुसार मुस्ताङ आउने प्रायः पर्यटक परम्परागत मार्फा गाउँ घुम्ने गरेको र विश्वभर प्रसिद्ध रहेको स्थानीय मार्फा वाइन तथा स्थानीय खाना र वेशभूषामा रमाउँछन् । 

परम्परागत मौलिक वास्तुकलाका गुजुमुज्ज घर र भित्रभित्रै साँगुरा गल्लीहरूको यस बस्तीलाई काठमाडौँको असनसँग समेत तुलना गरिन्छ । लहरै जोडिएका एकै ढाँचाका घर र घरैपिच्छेका पसलमा मुस्ताङी उत्पादनको प्रदर्शनी हेर्दा हिमालपारिको जिल्लामा नभई विकसित मुलुकको व्यस्त सहरमै पुगे जस्तो अनुभूति हुन्छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल गतवर्ष आन्तरिक र बाह्य गरी सात लाख ७५ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेको बताउनुहुन्छ । कालीगण्डकी कोरिडोर सडक विस्तार भएसँगै मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या प्रत्येक वर्ष ३० प्रतिशतभन्दा बढी वृद्धि भइरहेको छ । भुसाल भन्नुहुन्छ, “यात्रुहरूको सुरक्षालाई ध्यान दिँदै स्थानीय प्रशासनले सवारीचालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट अभियान सञ्चालन गरिरहेको छ ।” उहाँले सवारीको चापसँगै दुर्घटना न्यूनीकरण तथा उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्याबाट जोगाउन यस्तो अभियान सञ्चालन गरिएको बताउनुभयो । 

 यसो त मुस्ताङ पुग्ने पर्यटकको रोजाइमा मुक्तिनाथ, कागबेनी र ल्होमन्थाङ पर्ने गरेको छ तर स्याउको ब्रान्ड नै बनाएको मार्फाले पर्यटकलाई चुम्बकले झैँ तानेको छ । पर्यटक लक्षित व्यवसाय र सडकसँगै सहजै पुगेको आधुनिक निर्माण सामग्री प्रयोग गरेर ‘कङ्क्रिट’ युक्त भवनहरू बनाउने होडबाजीले मुस्ताङको मौलिकतामा नै असर पर्ने पो हो कि भन्ने थकाली समुदायमा चिन्ता देखिन्छ ।

विसं २०२३ भन्दाअघि परम्परागत कृषि तथा सामान्य होटल व्यवसाय सञ्चालन गर्दै आइरहेका थकाली समुदाय आफ्नो मौलिक परम्परा जोगाउन र निजी तथा सार्वजनिक जग्गा भाडामा लिई व्यावसायिक स्याउ फार्मतर्फ आकर्षित छन् ।