• १२ असार २०८१, बुधबार

ताप्लेजुङमा औद्योगिक तथा पर्यटन मेला सुरु

blog

मेलाको उद्घाटन गर्नुहुँदै प्रदेश मन्त्री प्रतापप्रकाश हाङ्गाम । तस्बिर: चन्द्र पन्दाक ।

ताप्लेजुङ, जेठ २७ गते । ताप्लेजुङमा पाँचदिने औद्योगिक तथा पर्यटन मेला बिहीबार सुरु भएको छ । स्थानीय उत्पादनको प्रवर्धन, वृद्धि विकास र बजारीकरण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको मेला बिहीबारदेखि सुरु भएको हो । 

प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले मेलाको उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री हाङ्गामले स्थानीय उद्यम विकास तथा रोजगारी सृजना गर्नमा मेलाले सघाउ  पु¥याउने बताउनुभएको छ । स्थानीय स्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरेर सीपलाई श्रममा बदल्ने र श्रममार्फत रोजगारी सृजना गर्ने कार्यका लागि मेलाबाट प्रेरणा मिल्ने मन्त्री हाङ्गामले विश्वास लिनुभएको छ ।

स्थानीय उत्पादनको प्रवद्र्धनले उद्यमी बन्न र रोजगारी सृजना गरी प्रत्येक व्यक्ति आफैँ आत्मनिर्भर बन्न सकिने अवस्था रहेको हाङ्गामको भनाइ छ । आफूले प्राप्त गरेको सीपलाई सदुपयोग गरी उद्यमी बन्नका लागि अग्रसर हुन सबै किसान तथा उद्यमीलाई उहाँले सुझावसमेत दिनुभएको छ । उद्यमीका लागि थप सीप विकास, सीप तथा प्रविधि हस्तान्तरणमा प्रदेश सरकारले सम्बन्धित जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयमार्फत सहजीकरण गर्ने बताउनुभएको छ । 

आउँदो सोमबारसम्म सञ्चालन हुने मेलामा ताप्लेजुङबाहेक पाँचथर, इलाम र तेह्रथुमका उद्यमीले सहभागिता जनाएका छन् । भेडाको ऊनबाट उत्पादन हुने राडीपाखी, अलैँचीको रेसाबाट उत्पादित विभिन्न सामग्री, अल्लो र खाँडीका कपडा, ठेकी, तोङ्बा, हर्पेजस्ता काठका सामग्री प्रदर्शनमा राखिएका छन् । यस्तै बाँसजन्य उत्पादनका सामग्री, तेह्रथुमे ढाका कपडा, प्रशोधित मह, स्थानीय उत्पादनका फलफूल लगायत विभिन्न ३५ वटा घरेलु उत्पादनका स्टल राखिएकाे आयोजकले जनाएको छ । 

यसरी जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवर्धन साथै बजारीकरण गर्ने उद्देश्यले पहिलो पटक औद्योगिक तथा पर्यटन मेला–२०७९ को आयोजना गरिएको हो । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा मेला आयोजना गरिएको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।