• २९ वैशाख २०८१, शनिबार

शृङ्गार मात्र होइन, संस्कारसमेत हो गहना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २४ गते । नेवारी समाजमा जन्मदेखि मृत्युसम्म गहनाको ठूलो महत्त्व हुन्छ । यस समुदायमा गहनालाई शृङ्गारको रूपमा मात्र नभएर संस्कारको रूपमा हेरिन्छ । गहनालाई लोप हुन नदिन कुनै पनि कार्यक्रममा नेवार समुदायका युवकयुवतीले गहना लगाउने गरेको पाइन्छ ।

“नेवार समुदायमा प्रयोग हुने पहिरन, गहना एवं शृङ्गार आफ्नै प्रकारको हुन्छ,” संस्कृतिविद् डा. चुन्दा वज्राचार्यले भन्नुभयो, “नेवारी संस्कारअनुसार गहनाको स्वरूप पुरुष र स्त्री जातिमा फरक छ । पुरुष र स्त्रीका रूपमा मात्र होइन, उमेर एवं अवस्थाअनुसार पनि फरक–फरक गहना प्रयोग गरिन्छ । 

पुरुष, स्त्री, बालबालिका, वृद्धवृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन् । विभिन्न उमेरकाले लगाउने गहना फरक–फरक भएजस्तै शिरदेखि पाउसम्म पनि फरक–फरक प्रकारका गहना लगाइने गरिन्छ ।

अहिले युवावर्गले संस्कृतिको सम्मान तथा फेसनकै कारण पनि यसलाई लोप हुन दिएको छैन । फेसनमा अहिले युवापुस्ता अगाडि छ । त्यसैले पनि नेवार समुदायको गहनादेखि पहिरनसम्म संरक्षण भइरहेको छ ।

पूर्व मिस नेवाः तथा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल पनि गहना शृङ्गारको सामग्री मात्र नभएर अस्तित्व हो भन्नुहुन्छ । “हाम्रो शान, पहिचान भनेको हाम्रो संस्कृति र भेषभूषा हो । त्यसैले सबैले आआफ्ना तर्फबाट संरक्षण गर्नुपर्छ,” उहाँ भन्नुहुन्छ ।