• ८ माघ २०८२, बिहिबार

झापामा महिला साहित्यकारको गतिविधि बढ्दै

blog

छन्द कवि श्रीमती मोक्ष खतिवडाद्वारा लिखित दुई वटा कृतिहरु एकै पटक लोकार्पण । तस्बिर सचिन पोखरेल

सचिन पोखरेल
बिर्तामोड, माघ ८ गते ।
कोशी प्रदेशमा नै झापा जिल्ला पछिल्लो समय साहित्यिक गतिविधिमा अग्रणी बन्दै गएको छ । अझ महिला साहित्यकारहरुको जुझारु र सक्रिय उपस्थिति पछिल्लो समय झापामा बढ्दै गएको देखिन्छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ मा आयोजित एक साहित्यिक कार्यक्रममा देखिएको महिला साहित्यकारहरुको सक्रिय एवम् रचनात्मक सहभागिताले पनि त्यो कुरालाइ पुष्टी गरेको छ ।

घर दलान साहित्य बुद्धशान्ति झापाले आयोजना गरेको कार्यक्रममा झापाकी चर्चित छन्द कवि श्रीमती मोक्ष खतिवडाद्वारा लिखित दुई वटा कृतिहरु एकै पटक लोकार्पण गरिएको छ । कवि खतिवडाद्वारा लिखित सन्निधान र आमा नामका कृतिहरु कार्यक्रममा लोकार्पण गरिएको हो ।

लामो समय शिक्षण पेशामा आवद्ध भइ हाल अवकाश प्राप्त जीवनयापन गर्दै आउनु भएकी कवि खतिवडाका मेरो स्वर्ग, भावविम्व र वृद्ध चिन्तन नामका कृतिहरु यस अघि प्रकाशन भइसकेको छ । शान्तिनगरस्थित शान्ति आदर्श माविमा शिक्षण पेशाबाट अवकाश प्राप्त गरेको पछिल्लो पाँच वर्षको अवधिमा उहाँ पूर्वी नेपालको साहित्यिक क्षेत्रमा निकै सक्रियताका साथ लागिपर्नुभएको छ । अझ नेपाली साहित्यको क्षेत्रमा जटिल देखिएको छन्द लेखनको कार्यलाइ कवि खतिवडाले प्राथमिकतामा राख्दै आउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लेखनाथ पुस्तकालयका संस्थापक अध्यक्ष डिल्लीराम खतिवडा, बुद्धशान्ति साहित्यिक तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, वरिष्ठ समालोचक विष्णुकुमार भट्टराइ, कवि मोक्ष खतिवडा, कृष्णप्रसाद खतिवडा लगायतका एक दर्जन बढी साहित्यिक व्यक्तित्वले उहाँ नवप्रकाशित दुई कृतिहरुको संयुक्त लोकार्पण गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि लेखनाथ पुस्तकालयका संस्थापक अध्यक्ष डिल्लीराम खतिवडाले नेपाली साहित्यको क्षेत्रमा दिनप्रतिदिन जटिल बन्दै गएको छन्द लेखनलाइ प्राथमिकता दिने कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।  

वरिष्ठ समालोचक विष्णुप्रसाद भट्टराइले समाज, देश र जनताप्रतिको जिम्मेबारी बहन गर्दै नेपाली साहित्यमा मोक्षहरुले योगदान गर्दै आएको चर्चा गर्नुभएको थियो । वरिष्ठ पत्रकार चन्द्र भण्डारीले कृतिकारको गहिरो अध्ययन र कठोर साधनाले नेपाली साहित्यमा कृतिको रुपमा खिरिला सन्ततीहरुको जन्म भइरहेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा कृतिकार मोक्ष खतिवडाले समयको गतिसँगै बग्दै गर्दा समाजमा रहेका अग्रज, आफन्त इष्टमित्र, शुभेच्छुकबाट प्राप्त उर्जा र हौसलाले आफुले लेखन कार्यलाई निरन्तरता दिँदै आएको बताउनु यो ।

कार्यक्रममा माधव खतिवडा, जय भण्डारी, कृष्णप्रसाद खतिवडालगायतका साहित्यिक र सामाजिक व्यक्तित्वले आआफ्नो धारणा राख्नु भएको थियो ।

सो अबसरमा बुद्धशान्ति घर भइ क्यानडामा अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत डा. भागवत अधिकारीका साथै ज्येष्ठ नागरिकहरु भागीरथा भट्टराइ, खड्गबहादुर पुलामी लगायतलाई सम्मान गरिएको थियो ।