सर्लाही समाचारदाता
सर्लाही, माघ ८ गते । ‘आठौँ राष्ट्रिय तिला सङक्रान्त माघी महोत्सव–२०८२’ को अवसरमा आयोजित नृत्य प्रतियोगितामा रौतहट पहिलो बनेको छ । सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइन पचगछियामा आइतबार राति सम्पन्न महोत्सवको प्रमुख आकर्षण रहेको थारू नृत्यमा चन्द्रपुर नगरपालिका मोतियाही रौतहट पहिलो हुन सफल भएको हो ।
नृत्य प्रतियोगिताको विजेता चन्द्रपुरले २१ हजार पाँच सय रुपियाँ नगदसहित १५ ग्राम चाँदी र सिल्ड प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा श्रेया ग्रुप पचगछिया हरिपुर दोस्रो र एभरेस्ट एकेडेमी लालबन्दी तेस्रो भएका छन् । दोस्रो भएको श्रेया ग्रुपलाई नगद १६ हजार पाँच सय रुपियाँ र १० ग्राम चाँदी तथा तेस्रो भएको एभरेस्ट एकेडेमीलाई नगद ११ हजार पाँच सय र पाँच ग्राम चाँदी प्रदान गरिएको आयोजक हरिपुर थारू कला संस्कृति आयोजना समितिले जनाएको छ ।
नृत्य प्रतियोगितामा सर्लाही, रौतहट र पर्साका २५ वटा समूहले सहभागिता जनाएका थिए । पहिलो, दोस्रो र तेस्रो भएका समूहबाहेक अन्य सहभागी समूहलाई समेत सान्त्वना पुरस्कार वितरण गरिएको छ ।
‘नेपालके आदिवासी जनजाति के सान, थारू कला संस्कृति हमर पहिचान’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवमा मधेश सरकारका स्वास्थ्यमन्त्री जङ्गीलाल राय, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, संविधान सभा सदस्य रामचन्द्र चौधरी, निवर्तमान प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, आयोजक समितिका अध्यक्ष ललित चौधरी, हरिपुर–७ का वडाध्यक्ष मनोजकुमार चौधरीलगायत भएर पुरस्कार वितरण गर्नुभएको छ ।