गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ९ गते । मिसेस नेपाल इन्टरनेसनल–२०२५ सन्जु भट्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड–२०२६ मा सहभागिता जनाउन बिहीबार संयुक्त राज्य अमेरिकाको लस भेगासतर्फ प्रस्थान गर्नुभएको छ । सन्जु रिबन इन्टरटेनमेन्टद्वारा केही अघि राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्ड प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल–२०२५ बन्नुभएको थियो ।
मिसेस वल्र्ड–२०२६ प्रतियोगिता आगामी जनवरी २२ देखि ३० तारिखसम्म लस भेगास, अमेरिकामा आयोजना हुँदै छ । नेपालबाट अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न लागेकी भट्टलाई रिबन इन्टरटेनमेन्ट प्रालिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानका साथ बिदाइ गरेको छ । बिदाइ समारोहमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा र प्रतियोगिताका कोरियोग्राफर एवं निर्देशक अश्विनीकान्त झाले बिदाइ गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा अध्यक्ष झाले भट्टको अनुशासन, समर्पण तथा आत्मविश्वासले मिसेस वल्र्ड–२०२६ को अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्नुभयो । विजेता भट्टले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनु गौरवको विषय भएको उल्लेख गर्दै आयोजक संस्था, प्रशिक्षक टोली तथा सम्पूर्ण नेपालीबाट प्राप्त सहयोग, विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभयो ।
प्रतियोगितामा भट्टले प्रस्तुत गर्ने नेसनल कस्ट्युम र गाउन इन्स्टिच्युट अफ इन्टरनेसनल फेसन टेक्नोलोजीका डिजाइनरहरू प्रतीक गुरुङ र दीक्षा ढकालद्वारा डिजाइन गरिएको छ । ककटेल ड्रेस भने सेन्ट्रल फेसन स्कुलकी डिजाइनर सायरा भुजेलद्वारा डिजाइन गरिएको छ ।