वसन्त पराजुली
नारायणगढ, माघ ९ गते । नारायणगढ मुग्लिन सडकको सिमलताल नजिकै त्रिशूली नदी किनारमा भेटिएको बस उत्खनन् गर्न थप प्रयास जारी राखिने भएको छ । बस भेटिएको १२ दिनसम्मको प्रयास असफल भएपछि प्रविधिकसहित सुरक्षा निकाय र स्थानीय प्रशासनका प्रमुखहरुको बिहीबार बसेको छलफल कार्यक्रममले उद्धार प्रयासलाई जारी राख्ने निर्णय गरेको हो ।
छलफल कार्यक्रममा चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारीको समेत उपस्थिति थियो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्धार प्रयास अपेक्षित रूपमा अघि नबढेपछि वैकल्पिक उपाय खोज्न सरोकार निकायहरु गहन छलफलमा जुटेको बताउनुभयो ।
“छलफलले बस उत्खननसम्बन्धी नयाँ निर्णय गरेको छ । १२ दिनसम्म गरिएको प्रयासबाट सन्तोषजनक परिणाम नआएपछि विभिन्न विकल्पमाथि छलफल भएको छ’’, उहाँले भन्नुभयो, “प्राविधिकहरु अझै पनि अहिलेकै विधिवाट निकाल्ने प्रयास गरिरहेका छन् । यदि यो प्रयास विफल भए बसलाई कटिङ गरेर निकाल्ने दोस्रो विकल्पमा निष्कर्ष टुङ्गिएको छ’’, उहाँले भन्नुभयो ।
उहाँले प्राविधिक टोलीको मागअनुसार थप उद्धार सामग्री प्रयोग गरी केही समय अझै उत्खनन कार्यलाई निरन्तरता दिने निर्णय भएको पनि जानकारी दिनुभयो ।
बस भेटिएको स्थान जटिल भौगोलिक स्थानमा रहेकाले थप ठुला उपकरणहरु लगेर निकाल्न नसकिने निष्कर्ष पनि प्राविधिक टोलिले निकालेका छन् ।
अहिले बस निकाल्न चेन पुल्लि र घिर्निका माध्यमवाट प्रयास गरिएको छ । बस पानीको सतहभन्दा तल रहेको र बालुवा बस भित्र भरिएकाले यो विधि प्रभावकारी नहुने सशस्त्र प्रहरीको प्राविधिक टोलीले सुझाव दिएको थियो । सशस्त्र प्रहरीको प्राविधिक टोलीको सुझाव बसलाई कटिङ नै गरेर निकाल्ने अन्तिम विकल्प सुझाएको बताइन्छ । छललफल कार्यक्रमले यो विधिलाई विकल्पको रुपमा निर्णय गरेको छ ।
सशस्त्र प्रहरीका हवल्दार गोताखोर ललितबहादुर खाम्चाले नदी गहिराइभन्दा तल्लो भागसम्म बस पुरिएकाले कटिङको विकल्प नभएको सुझाव दिनुभएको थियो ।
२०८१ असोज २८ गते ६५ यात्रु बोकेको बाग्मती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स र बाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए । सो बसमा सवार २३ जनाको मृत्यु र ३९ जना बेपत्ता छन् । बेपत्ता बसमध्ये गणपति डिलक्सको बस सिमलताल नजिकै तनहुँ तर्फी भागमा त्रिशूली नदी किनारमा गत पुस २७ गते फेला परेको थियो । अहिले बस निकाल्न भइरहेको प्रयास असफल भएपछि प्राविधिक टिमसहित उद्धार टोली नयाँ विकल्पमा छलफलमा जुटेका हुन् ।