काठमाडौं, माघ ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने बताउनु भएको छ । उहाँले त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन जोड पनि दिनु भएको छ ।
शुक्रवार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सुरक्षा चुनौतीहरु समयानुसार परिवर्तन भइरहेको बताउनु भयो । उहाँले विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेकाले फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतिहरुको सूक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सुरक्षा चुनौतिहरु समयानुसार परिवर्तन हुँदै गएका छन् । विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय छ । प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतिहरुको सुक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ कार्य सम्पादन गर्न म यहाँहरुलाई निर्देशन दिन चाहन्छु । वर्तमान संक्रमणकाल अन्त्य गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको छ । निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनु हुँदैन ।’
प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सबै सुरक्षा निकायले उच्च स्तरको व्यवसायिकता प्रस्तुत गर्ने जिकिर गर्नुभयो ।
[२५ औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सव-२०८२ समारोह]
सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको मन्तव्य
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्मानीय राष्ट्रिय सभाका अध्यक्षज्यू,
नेपाल सरकारका माननीय मन्त्रीज्यूहरू,
संवैधानिक निकायका प्रमुख तथा सदस्यज्यूहरू,
मुख्य सचिवसहित सबै राष्ट्रसेवकहरु,
Excellencies तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू,
उपस्थित विशिष्ट अतिथिवर्ग,
सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू
र, सञ्चारकर्मी मित्रहरू ।
सर्वप्रथम, राष्ट्रको सुरक्षा व्यवस्थामा विशिष्ट भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बल, नेपालको २५ औँ स्थापना दिवस तथा रजत जयन्तीको ऐतिहासिक अवसरमा यस संगठनमा आबद्ध सम्पूर्ण सुरक्षाकर्मी तथा परिवारजनप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस गौरवमय समारोहमा मलाई विशिष्ट अतिथिको रूपमा आमन्त्रण गर्नुभएकोमा धन्यवाद पनि ज्ञापन गर्दछु।
राष्ट्रको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षाका क्षेत्रमा सशस्त्र प्रहरी बलले विगत २५ वर्षदेखि निर्वाह गर्दै आएको समर्पित भूमिकाको नेपाल सरकारको तर्फबाट म उच्च मूल्याङ्कन गर्दछु।
चुनौतीपूर्ण परिस्थितिमा पनि अनुशासन, निष्ठा, पेशागत कौशल र व्यावसायिकताको उच्च उदाहरण प्रस्तुत गर्दै राष्ट्रसेवामा निरन्तर खटिनु सशस्त्र प्रहरी बलको परिचय बनेको छ।
सशस्त्र प्रहरी बल एउटा विशिष्टीकृत सुरक्षा संगठन हो, जसको संरचना सैन्य प्रकृतिको र कार्यक्षेत्र सैन्य तथा प्रहरी दुवै प्रकृतिका छन्।
देशमा चलेको सशस्त्र द्वन्द्वदेखि पछिल्ला दशकहरूमा पूर्वी पहाड, तराई तथा अन्य संवेदनशील क्षेत्रमा देखिएका सुरक्षा चुनौतीहरूको सामना गर्न यस बलले निर्वाह गरेको भूमिका स्मरणीय छ।
एउटा सार्वभौम राज्य बलियो हुन त्यसको भूगोल, जनता, अर्थतन्त्र र शासन प्रणाली बलियो हुनुपर्छ। सीमामा खटिएर राष्ट्रिय भूगोलको रक्षा गर्नुका साथै राजस्व संकलनमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सशस्त्र प्रहरी बलले पुर्याउँदै आएको योगदान उल्लेखनीय छ।
कठिन भौगोलिक अवस्था, जोखिमपूर्ण कार्यक्षेत्र र प्रतिकूल परिस्थितिमा पनि निष्ठाका साथ राष्ट्रसेवामा समर्पित रहनु यस बलको विशेष पहिचान हो।
यस संगठनले प्रदर्शन गरेको साहस, शौर्य र पेशागत निष्ठाले नै सशस्त्र प्रहरी बललाई जनताको भरोसायोग्य सुरक्षा निकायका रूपमा स्थापित गरेको छ।
सुरक्षा चुनौतीहरू समयअनुसार परिवर्तन हुँदै गएका छन्।
विगतका निर्वाचनहरूलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय छ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ कार्यसम्पादन गर्न म यहाँहरूलाई निर्देशन दिन चाहन्छु।
वर्तमान संक्रमणकाल अन्त्य गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न नेपाल सरकारले सम्पूर्ण शक्ति लगाएको छ र सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको छ।
यस सन्दर्भमा मैले भन्ने गरेकी छु- निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनुहुँदैन।
यस कुरालाई मनमा राखी सम्पूर्ण सुरक्षा निकायबीच आवश्यक समन्वय र सहकार्य गर्दै निर्वाचन सफल पार्न सशस्त्र प्रहरी बलसहित सबै सुरक्षा निकायले उच्चस्तरको व्यावसायिक कुशलता प्रदर्शन गर्नेछन् भन्नेमा सरकार विश्वस्त छ ।
सीमित स्रोत–साधनका बीच पनि यहाँहरूले कार्यसम्पादन गरिरहनुभएको यथार्थ सरकारलाई अवगत छ।
र, सुरक्षाकर्मीहरूको खाने गाँस, बस्ने बास र लगाउने कपासको सुनिश्चितता सरकारको प्राथमिकतामा रहेको स्पष्ट गर्न चाहन्छु ।
आन्तरिक सुरक्षा प्रभावकारी हुँदा मात्र विकास सम्भव हुने भएकाले राज्यका सुरक्षा संयन्त्रलाई सरकारले विशेष महत्त्वका साथ हेर्छ। महानिरीक्षकज्यूसहित सम्पूर्ण दर्जालाई ढुक्कसाथ कर्तव्य निर्वाह गर्न म आग्रह गर्दछु ।
रजत जयन्तीका सन्दर्भमा तपाईँहरुलाई मेरो विशेष आग्रह छ- विगत २५ वर्षको समीक्षा गर्दै संस्थागत सुदृढीकरण र भावी दिशाको स्पष्ट मार्गचित्र कोर्ने अवसरका रुपमा पनि उपयोग गरौँ ।
बदलिँदो सुरक्षा चुनौती, प्रविधिको विकास र नागरिकको अपेक्षालाई ध्यानमा राख्दै यस बललाई अझ सक्षम, पारदर्शी, मानव अधिकारमैत्री र जनमुखी सुरक्षा निकायका रूपमा विकास गरौँ ।
यस विशेष अवसरमा कर्तव्यपालनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते भई राष्ट्रसेवामा योगदान पुर्याइरहनु भएका बहादुर योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछु।
उहाँहरूको त्याग, बलिदान र साहसले वर्तमान तथा भावी पुस्तालाई राष्ट्रप्रेम, कर्तव्यबोध र अनुशासनको मार्गमा सदैव प्रेरणा दिइरहनेछ।
अन्त्यमा, २५ औँ सशस्त्र प्रहरी दिवस तथा रजत जयन्तीले सशस्त्र प्रहरी बल, नेपाललाई अझ एकताबद्ध, अनुशासित र सशक्त बनाओस् भन्ने कामना गर्दै राष्ट्रसेवाको यात्रामा सदा अडिग रहिरहन शुभेच्छा व्यक्त गर्दछु। पुनः एकपटक हार्दिक बधाई तथा शुभकामना।
धन्यवाद।