नवीनराज कुइँकेल
लमजुङ, माघ ९ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा चुनावी माहोल तात्दै जान थालेको छ । यहाँ दल तथा स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा हुनुहुन्छ ।
रोचक त दुईजना पुराना उम्मेदवारसँग १० जना पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ । लामो समयदेखि लमजुङको राजनीतिमा सक्रिय रहनुभएका नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसीबाहेक अन्य सबै उम्मेदवार नयाँ अनुहारको हुनुहुन्छ ।
गुरुङ २०७९ को निर्वाचनमा बिजयी बन्नु भएको थियो । सोही निर्वाचनमा धर्मराज केसी तेस्रो स्थान हासिल गर्दै पराजित हुनुभएको थियो । गुरुङ नवौं पटक मैदानमा उत्रिदा केसी दोस्रो पटक प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।
नेपाली कांग्रेसबाट गमप्रसाद गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट हरिजंग तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केवीन्द्रजंग गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, नेकपा (माओवादी केन्द्र) बाट रवीन्द्र नखोला, श्रम संस्कृति पार्टीबाट कोषलाल गुरुङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विकास गुरुङ, जनादेश पार्टी नेपालबाट मिलन बास्कोटा, नेशनल रिपब्लिक पार्टीबाट भरत गुरुङ तथा स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष घिमिरेले पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ ।
मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार कुनै पनि उजुरी नपरेपछि उहाँहरु १२ जनाकै उम्मेदवारी कायम भएको छ । तोकिएको समयसीमाभित्र कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छैन् ।
२०७९ को प्रनिनिधिसभा निर्वाचनको नतिजा हेर्दा नेकपा (एमाले), नेपाली कांग्रेस र रास्वपा मुख्य प्रतिष्पर्धीका रुमा देखिएका छन् । सो बेला नेपाली काँग्रेससँगको गठबन्धनमा उम्मेदवार बन्नुभएका तत्कालीन नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्नुभएका पृथ्वीसुब्बाले यसपटक कांग्रेस, माओवादी र रास्वपा उम्मेदवारसँग प्रतिष्प्रधा गर्नुपर्ने छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याएर विजयी हुँदा प्रमुख प्रतिष्प्रधी देवप्रसाद गुरुङले ३१ हजार ७८९ मत पाउनुभएको थियो । सो निर्वाचनमा रास्वपाका उम्मेदवार धर्म केसीले ९ हजार २९ मत पाउनुभएको थियो ।
लमजुङ जिल्लामा कुल १ लाख ३७ हजार १२४ मतदाता रहेका छन् । जसमा महिला ६९ हजार ५२४ र पुरुष ६७ हजार ६०० मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालको निर्वाचनको तुलनामा यस पटक मतदाता सङ्ख्या ३ हजार ४०७ ले वृद्धि भएको छ । जिल्लामा १३० मतदानस्थलमा १८६ मतदान केन्द्र रहने छन् ।