• ९ माघ २०८२, शुक्रबार

निपाह भाइरस रोक्न उच्च सावधानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ९ गते । भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि उच्च सावधानी अपनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि त्यस क्षेत्रबाट भित्रिने नाकामा उच्च सावधानी अपनाउन सुरु गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पश्चिम बङ्गालमा देखिएको भाइरस नेपालमा पनि देखिन सक्ने भएकोले उच्च सतर्कता अपनाएको जानकारी दिनुभयो । छिमेकी मुलुकमा भाइरस फैलिएपछि नेपालमा पनि उच्च जोखिममा रहेको जानकारी दिँदै उहाँले सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई विशेष निगरानी गरिएको बताउनुभयो । उहाँले निपाह भाइरसको शङ्का लागेका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पताल पनि तोकिएको जानकारी दिनुभयो ।

प्रवक्ता बुढाथोकीले भारतको सीमाक्षेत्रमा रहेका हेल्थ डेस्कमा सङ्क्रमणको लक्षण भएका बिरामीलाई निगरानीमा राख्ने काम गरिएको जानकारी दिनुभयो । उहाँले निपाह भाइरस चमेरो, सुँगुर वा सङ्क्रमित व्यक्तिबाट मात्र सर्ने जानकारी दिनुभयो । विश्वको तथ्याङ्क हेर्दा निपाह भाइरसले ३३ प्रतिशतको मृत्यु हुने गरेको उल्लेख गर्दै उहाँले नेपालमा सावधानी अपनाउनुपर्ने बताउनुभयो । 

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पछिल्ला वर्षमा विश्वका विभिन्न मुलुकमा निपाह भाइरस देखिएको जानकारी दिँदै नेपाल पनि उच्च जोखिममा रहेको बताउनुभयो । निपाह भाइरस घातक र छिटो फैलिन सक्ने सङ्क्रामक रोग हो भन्दै उहाँले यसको उपचार लक्षणका आधारमा गरिने बताउनुभयो । यो भाइरस जनावरबाट मानिसमा सर्ने रोग हो, जसका कारण मृत्यु दर उच्च रहेको छ ।

डा. पुनले भाइरसको सङ्क्रमणपछि चार देखि १४ दिनभित्र लक्षण देखिन सक्ने बताउनुभयो । उहाँले सुरुमा सामान्य देखिने लक्षण क्रमशः गम्भीर बन्दै जान सक्ने बताउनुभयो । ज्वरो आउने, टाउको दुख्ने, खोकी र घाँटी दुख्ने, बान्ता र वाकवाकी लाग्ने, अत्यधिक थकान हुने, सास फेर्न गाह्रो हुनु, मानसिक अवस्था बिग्रने जस्ता लक्षण देखिने उहाँले जानकारी दिनुभयो । यस्तै मस्तिष्क सुन्निनु, मस्तिष्कमा असर पुगेका बिरामीमा मृत्युको जोखिम अत्यन्तै हुने उहाँले बताउनुभयो । 

डा. पुनले निपाह भाइरस फलफूल खाने चमेराको ¥याल, पिसाब वा दिसाबाट सर्ने भन्दै चमेराले खाएको वा दूषित पारेको फलफूल तथा काँचो रस सेवन गर्दा भाइरस सर्ने बताउनुभयो । सङ्क्रमित सुँगुर वा अन्य जनावरसँग सम्पर्क हुँदा रोग सर्ने बताउनुभयो । उहाँले हालसम्म निपाह भाइरसको निश्चित उपचार वा खोप उपलब्ध नभएको बताउनुभयो ।