गोरखापत्र अनलाइन
ताप्लेजुङ, माघ ८ गते। ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का युवा नेता क्षितिज थेबेले जिल्लाको विकास र समृद्धिलाई आफ्नो जीवनको सर्वोच्च प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले ताप्लेजुङवासीको सुख, खुशी र समृद्धि नै आफ्नो आत्मसन्तुष्टि हुने उल्लेख गर्दै जनताको हितका लागि निस्वार्थ रूपमा काम गर्ने दृढ सङ्कल्प गर्नुभयो । ‘ताप्लेजुङको विकास र समृद्धि मेरो प्रण हो, जिल्लावासीको सुख र खुसी नै मेरो आत्मसन्तुष्टि हुनेछ’ उहाँले आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उम्मेदवार थेबे ताप्लेजुङको समग्र विकासका लागि पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्थानीय स्रोत–साधनको सदुपयोगलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
विकासका हरेक योजनामा जनताको आवश्यकता, सहभागिता र स्वामित्व सुनिश्चित गरिनेछ, उहाँले भन्नुभयो । सालिन र जिम्म्वार युवा नेतृत्वका रूपमा परिचित उहाँले परिवर्तन, पारदर्शिता र उत्तरदायित्वसहितको राजनीतिक अभ्यास आवश्यक रहेको उल्लेख गर्नुभयो । विकास र समृद्धिको यात्रामा सबै ताप्लेजुङवासीलाई साथ र सहयोगका लागि आह्वान गर्नुभयो ।