• १९ चैत २०८१, मङ्गलबार

सुधारको नमुना : भक्तपुर क्यान्सर अस्पताल

blog

काठमाडौँ, चैत ६ गते । केही महिनाअघिसम्म भक्तपुर क्यान्सर अस्पतालको फार्मेसी प्रायः रित्तो हुने गथ्र्याे । चिकित्सकले सिफारिस (प्रेस्क्रिप्सन) गरेका औषधी खरिद गर्न अस्पतालबाहिरका फार्मेसीमा जानुपर्ने बाध्यता थियो । स्वास्थ्य बिमाका औषधीसमेत पाइँदैनथ्यो तर पछिल्लो समय अस्पतालमा फार्मेसी मात्र होइन, अस्पतालको व्यवस्थापकीय पक्ष, अस्पतालले दिने सेवा सुविधासमेत चुस्त हुँदै गएको छ । 

यो अस्पतालमा क्यान्सरका बिरामीका लागि शल्यक्रिया, केमोथेरापी तथा रेडियोथेरापीका लागिसमेत बढीमा १५ दिनमा पालो आउने गरेको छ । पहिले पहिले केमो र रेडियोका लागि तीन महिनाभन्दा बढी समय पालो कुर्नु पथ्र्याे । भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले अस्पतालमा बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने व्यवस्था अन्त्य गरिएको जानकारी दिनुभयो । 

उहाँले अस्पतालको फार्मेसीमा ९० प्रतिशत औषधी पाउने गरेको जानकारी दिनुभयो । नेपालमा दर्ता नभएका र दर्ता भएर पनि नेपाल नल्याइएका औषधीबाहेक अन्य सबै औषधी फार्मेसीमा पाउने गरेको उहाँको दाबी छ । 

निर्देशक डा. चालिसेका अनुसार यसबाहेक अस्पतालमा दुई वटा शल्यक्रिया कक्षलाई बढाएर पाँच वटा पु¥याइएको छ । “अब शल्यक्रियाका लागि समय लाग्दैन,” डा. चालिसेले भन्नुभयो, “तत्काल शल्यक्रिया गर्न पाउँदा बिरामीलाई ठुलो राहत हुने छ ।” डा. चालिसेले अस्पतालले विस्तारित सेवालाई समेत प्रभावकारी बनाएको बताउनुभयो । उहाँले विराटनगरको कोशी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा केमोथेरापीको उपचार सुरु भइसकेको जानकारी दिँदै समय समयमा अस्पतालबाट विशेषज्ञ टोली गएर क्यान्सर रोगको उपचार गर्ने गरेको बताउनुभयो । 

वीरगन्जको नारायणी अस्पतालमा समेत विस्तारित सेवा दिइएको र उक्त अस्पतालमा पनि केमोथेरापी सेवा उपलब्ध भइसकेको उहाँ बताउनुहुन्छ । डा. चालिसेले अस्पतालमा थप विशेषज्ञ चिकित्सक थप गरेको, १५० शय्यालाई बढाउने तयारी भइरहेको बताउनुभयो । उहाँले भक्तपुर क्यान्सर अस्पतालमा निजी अस्पतालले भन्दा छिटोछरितो ढङ्गबाट उपचार सेवा दिइरहेको बताउनुभयो । 

सर्लाहीका रामआधार यादव भक्तपुर अस्पताल धाउनुभएको महिनौँ भइसक्यो । आफन्तको क्यान्सर उपचार गराउन आउनुभएका यादव पहिले पहिले केमोथेरापीका लागि महिनौँ कुर्नुपर्ने बाध्यता थियो तर पछिल्लो समय १० दिनको अन्तरमा उहाँको आफन्तको केमो भइरहेको छ । यादवले भन्नुभयो, “केही गरौँ भन्ने उद्देश्यले काम गर्दा यति छोटो समयमा पालो पाउन सकिने रहेछ ।” महिनौँ कुर्दा क्यान्सर शरीरमा फैलिसक्ने र अन्ततः बिरामीको मृत्यु हुने भन्दै अस्पतालले चाँडो सेवा दिँदा बिरामीलाई ठुलो राहत भएको उहाँको भनाइ छ ।

यस्तै रामेछापबाट क्यान्सरको उपचार गराउन आउनुभएको सृजन क्षेत्रीले आफ्नो ससुराको उपचार गराउन आउँदा पहिले महिनौँसम्म कुर्नु परेको अनुभव सुनाउनुभयो । उहाँका अनुसार त्यसबेला बिरामीलाई भनेको समयमा बेड पाउन कठिन, केमोथेरापी या रेडियोथेरापी गर्नका लागि महिनौँसम्म पालो कुरेर बस्नुपर्ने, अस्पतालको फार्मेसीमा एकाध प्रकारका मात्र औषधी पाउने हुन्थ्यो । क्षेत्रीले भन्नुभयो, “केही समयअघिदेखि अस्पतालमा धेरै सुधारका काम भएको छ । शय्या उपलब्ध हुनेदेखि लिएर, केमोथेरापी, रेडियोथेरापी तथा शल्यक्रियालगायतका लागि अब समय कुरिरहनु पर्दैन । अस्पतालमा सिनियर चिकित्सकलाई भेटाउन पनि सहजै सकिन्छ ।” उहाँले भक्तपुर क्यान्सर अस्पतालले निजीमा भन्दा राम्रो सेवा दिइरहेको धारणा सुनाउनुभयो ।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।