काठमाडौँ चैत १ गते । स्वास्थ्यमा जटिल अवस्था भएपछि मात्रै स्वास्थ्य संस्था जाने गर्दा नेपालमा मिर्गौला रोगी बढिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला फेल हुने गरेको छ ।
आफ्नो स्वास्थ्यप्रतिको जनचेतना कमी, उच्च रक्तचाप, अस्वस्थकर खानपान, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा नेपालमा मिर्गौला रोगी बढेका हुन् । अस्वस्थकर जीवनशैली, असन्तुलित खानपानलगायत कारणले मानिसको मिर्गौला क्षतिग्रस्त हुने गरेको छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ भन्नुहुन्छ, “जटिल अवस्था नहुँदासम्म स्वास्थ्यमा ध्यान नदिने प्रवृत्ति मिर्गौला फेल हुने मुख्य समस्या हो । जब धेरै अप्ठ्यारो पर्छ, अनि मात्र मानिस अस्पताल आउँछ ।”
डा. श्रेष्ठले पछिल्लो समय बच्चालाई पनि मिर्गौला फेल हुने गरेको बताउनुभयो । उहाँ कम्तीमा वर्षमा एक पटक स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गरेमा मिर्गौला रोगमात्र नभई अन्य रोगबाट बच्न सकिने सुझाव दिनुहुन्छ । डा. श्रेष्ठले मिर्गौला रोग लाग्न नदिन जनचेतना विकास गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर बस्दै आउनुभएकी नेपालगन्जकी सुशीला उपाध्यायको स्नातक तहमा अध्ययन गर्दैगर्दा मिर्गौला फेल भयो । सानैदेखि पत्रुखाना (जङ्कफुड) खाने उहाँको बानी थियो । विद्यालय तथा कलेजमा समेत पत्रुखाना खाने सुशीलाले पानी कम खानुहुन्थ्यो । विद्यालय लगेको पानी पूरै घरमा फिर्ता हुन्थ्यो । स्नातक तहमा आइपुग्दा उहाँलाई मिर्गौलामा समस्या देखियो । परीक्षणक्रममा मिर्गौला फेल भएको पुष्टि भयो । हाल उहाँ डाइलासिस गरेर बस्नुभएको छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले रक्तचाप मात्र नियमित परीक्षण गर्दा मिर्गौला रोगबाट बच्न सकिने बताउनुहुन्छ । “नियमित मिर्गौलाको परीक्षण गर्न पिसाबमा क्रिटिनाइनको मात्रा हेरे पुग्छ,” डा. काफ्लेले भन्नुभयो, “तर नेपालमा जटिल अवस्थामा पुगेपछि मात्र बाध्यात्मक रूपमा अस्पताल जाने चलन छ, जुन बेला मिर्गौला फेल भइसकेको हुन्छ ।”
सरकारले स्वास्थ्य बिमाको व्यवस्था गरे पनि अस्पतालमा मिर्गौला रोगीको सङ्ख्या घट्न सकेको छैन । डा. काफ्ले नेपालको कुल जनसङ्ख्याको १० प्रतिशतमा कुनै न कुनै रूपमा मिर्गौला रोग लाग्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार उच्च रक्तचाप तथा मधुमेह भएका बिरामीको मिर्गौला फेल हुने गरेको देखिन्छ । उहाँले सामान्य मानिसले पनि आफ्नो स्वास्थ्यको हेरचाह गरे मिर्गौला रोगबाट बच्न सकिने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “४० वर्षको उमेरपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमतामा प्रत्येक वर्ष एक प्रतिशतका दरले ह्रास आउँछ । बढ्दो उमेरसँगै देखिने मधुमेह, उच्च रक्तचाप, मुटुरोगका कारणले मिर्गौलालाई असर गर्छ ।”
मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले १२ वर्षअघि स्थापना गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दैनिक तीन सयसम्म बिरामी आउने गर्छन् । तीमध्ये दुई सय जना मिर्गौलाको समस्या भएर आउने गरेका छन् । केन्द्रमा मात्र होइन, वीर, त्रिवि शिक्षण अस्पतालमा समेत मिर्गौलाको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दो छ । वीर अस्पतालमा दैनिक १५० देखि २०० सम्म नेफ्रोलोजीको समस्या भएका बिरामी आउने गरेका वीर अस्पतालका वरिष्ठ युरोलोजिस्ट डा. रोविनबहादुर बस्नेत बताउनुहुन्छ ।
मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा मिर्गौला रोगी बढेसँगै उपचार विधिमा पनि सहज र सुधार आएको जानकारी दिनुभयो । केही वर्षअघिसम्म मिर्गौला रोगको उपचार तथा प्रत्यारोपण गर्न भारतलगायतका देशमा जानुपथ्र्याे । अहिले नेपालमै सरकारले प्रत्यारोपण केन्द्र खोलेर वार्षिक पाँच सयभन्दा बढी जनाको मिर्गौला प्रत्यारोपण गर्दै आएको छ । केन्द्रबाहेक शिक्षण अस्पतालमा पनि प्रत्यारोपण हुने गरेको छ । वीर अस्पतालमा नियमित मिर्गौला प्रत्यारोपण हुने गरेकोमा हाल स्थगित भएको छ । डा. श्रेष्ठले भन्नुभयो, “मानिसहरू विदेश गएर मिर्गौलाको उपचार गर्थे, अहिले नेपालमा यसको उपचार सहज बनेको छ ।”
नेपालमा पहिलो पटक सन् १९९८ वीर अस्पतालमा हेमोडाइलासिस सेवा सुरु भएको थियो । त्रिवि शिक्षण अस्पतालबाट सन् २००८ अगस्ट ८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको थियो । त्यसको तीन महिनापछि वीर अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको थियो । यसैबिच बिहीबार विश्व मिर्गौला दिवस मनाइएको छ । सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।