• १७ असार २०८१, सोमबार

गाउँघरमा उत्पादित तोरी तेलप्रति उपभोक्ता आकर्षित

blog

महोत्तरीको बर्दिवासस्थित आफ्नै उद्योगमा शुद्ध तोरीको तेल उत्पादन गर्नुहुँदै अर्जुन खड्का । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केaर, जेठ १५ गते ।
महोत्तरी बर्दिवासका अर्जुन खडकालाई तोरी तेल उत्पादन गर्न भ्याइनभ्याई छ । शुद्ध तोरीे तेलको माग बढेपछि उहाँलाई तेल उत्पादन गर्न भ्याइनभ्याई भएको हो ।

खड्काले बर्दिवासस्थित आफ्नै घरमा विद्युतबाट सञ्चालन हुने दुई वटा तोरी पेल्ने मेशिन जडान गरेर तेल उत्पादन गर्दै आउनुभएको छ । स्वास्थ्यप्रति सचेत हुँदै गएका नेपाली नागरिक अन्य स्वस्थ खानेकुरा जस्तै शुद्ध तोरी तेलको पनि प्रयोग थालेका छन् ।

बजारमा पाइने मिसावटयुक्त खानेतेलका कारण विभिन्न रोगव्याधी हुने डरले नेपाली समाज पहिला–पहिला गाउँघरमा प्रयोग गर्ने शुद्ध तोरी तेलको पुनः प्रयोग गर्न थालेका हुन् । तेलको माग बढेपछि मिल सञ्चालक खडकाले तेल उत्पादन पनि बढाउनुभएको छ । घरपरिवारका चारजना सदस्य र स्थानीय एकजनालाई रोजगार दिएर बिहानदेखि अबेर रातिसम्म तेल उत्पादन गरिरहेको मिल सञ्चालक खडकाले बताउनुभयो । 

उहाँले अहिले दैनिक १५० लिटरसम्म तेल उत्पादन गर्दै आएको बताउनुहुँदै जति तेल उत्पादन गरे पनि बजारमा गएर बिक्री गर्नु नपरेको जानकारी दिनुभयो । सबै तेल यहीँबाट बिक्छ । आवश्यक पर्नेले मिलमै आएर लैजाने गरेका छन, मिल सञ्चालक खड्काले भन्नुभयो ।

१५ वर्षअघि एउटा मिल स्थापना गरेर शुद्ध तोरीको तेल उत्पादन सुरु गर्नुभएका खडकाले तेलको माग बढेपछि थप एउटा मेशिन स्थापना गर्नुभयो ।

खडकाले सञ्चालन गर्नुभएको तेल मिलबाट उत्पादित तेल काठमाडौं, पोखरा, जनकपुर,विराटनगरलगायतका शहरमा पुग्ने गरेको छ ।

शुद्ध तोरीको तेल सबैले प्रयोग गरुन भनेर आफूले मिल सञ्चालन गरेको मिल सञ्चालक खड्काको भनाइ छ । तेल उत्पादन गर्न स्थानीय स्तरमा उत्पादन हुने तोरी बढीजसो प्रयोग गर्ने गरेको र नपुगेको खण्डमा दोलखा र रामेछापलगायत पहाडी जिल्लाबाट मगाउने गरेको उहाँले भन्नुभयो । 

स्थानीय किसानसँग तोरी खरीद गरेर तेल उत्पादन गर्न थालेपछि यहाँका किसान तोरी खेतीप्रति आकर्षित हुँदै गएका छन् । तोरी बिक्री गर्न बजारको समस्या नहुने भएपछि यहाँका किसान तोरी खेतीप्रति आकर्षित हुँदै गएका हुन् ।