लक्ष्मी चौधरी
जनकपुरधाम, वैशाख ११ गते ।जानकी मन्दिरले जानकी नवमीको अवसरमा दुग्धमति शाही स्नान यात्रालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ ।
शनिबार (भोली)मनाइने जानकी जन्म महामहोत्सवलाई लक्षित गर्दै विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको दुग्धमति शाही स्नानलाई मन्दिरले यसवर्ष पनि निरन्तरता दिएको हो ।
सांस्कृतिक धरोहरको रुपमा रहेको जानकी नवमी जस्तो पर्वलाई थप व्यवस्थित बनाउन तथा प्रचार प्रसार गर्नका लागि मन्दिर परिसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना समेत गरिएको छ ।
जानकी जन्म महामहोत्सवको अवसरमा जानकी मन्दिरको नेतृत्वमा शनिबार बिहानै ५ बजे शाही स्नानका लागि विशेष शोभायात्रा आयोजना गरिएको छ ।
उक्त शोभायात्रामा साधुसन्त तथा श्रद्धालु भक्तजनलाई सहभागी हुन मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास वैष्णवले आग्रह गर्नुभएको छ।
उत्तराधिकारी महन्त दासले जानकी जन्मोत्सवको राष्ट्रिय महत्वलाई दृष्टिगत गर्दै यस पर्वमा सङ्घीय सरकारले सार्वजनिक बिदा घोषणा गर्नुपर्ने माग समेत राख्दै आउनुभएको छ ।
उहाँले जानकी जन्मोत्सवबारे जानकारी नभएका पर्यटक तथा भक्तजनलाई लक्षित गरी विशेष दूग्धमति शोभायात्रा लगायतका कार्यक्रमहरूको आयोजना गरिएको बताउनुभयो ।दासले भन्नुभयो,“शाही स्नानले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै स्थानीय सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने विश्वास समेत लिएका छौं ।”
शाही स्नान पश्चात नगर परिक्रममा, आरती, मंगलगान, दीप प्रज्वलन, रामकथा वाचनलगायतका धार्मिक गतिविधि समेत समावेश गरिएका छन् ।यस्तै जानकी मन्दिरलगायत जनकपुरधामका मठमन्दिरमा प्रत्येक साँझ नाचगान तथा भजनकीर्तन हुँदै आएको छ मन्दिरलाई सुसज्जित गरी झिलिमिली समेत बनाइएको छ ।