• १० माघ २०८१, बिहिबार

वैदेशिक रोजगारीमा दक्ष युवा घटे

blog

काठमाडौँ, माघ ३ गते । वैदेशिक रोजगारीमा दक्ष भएर विदेश जाने युवाको सङ्ख्या पछिल्लो पाँच महिनामा नौ प्रतिशतसम्म घटेको देखिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५ जना वैदेशिक रोजगारीका लागि गएकामध्ये दक्ष भएर जानेको सङ्ख्या ४२ हजार ७९४ (७२ प्रतिशत) रहेकोमा सङ्ख्या चालु आवको मङ्सिरमा रोजगारीमा गएका ८४ हजार २२६ जनामध्ये ५३ हजार १५८ जना (६३ प्रतिशत) मात्रै दक्ष भएर गएका हुन् । 

विभागका अनुसार भदौमा ५७ हजार ४९३ जना गएकोमा ३७ हजार ७८३ जना (६६ प्रतिशत) दक्ष भएर विदेश गएका छन् । यस्तै असोजमा ५३ हजार ५२५ जना विदेश गएकोमा ३३ हजार ९१९ जना (६३ प्रतिशत) दक्ष भएर गएका छन् भने कात्तिकमा ७० हजार ९९० जना विदेश गएकोमा ४६ हजार ५५८ जना दक्ष श्रमिक विदेश गएको विभागको प्रतिवेदनमा उल्लेख छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले दक्ष र अदक्ष मात्रै तुलना गर्दा पछिल्लो पाँच महिनामा दक्ष श्रमिक घटेको देखिए पनि अर्धदक्ष र उच्च सिपयुक्तसमेत तुलना गर्दा भने बढ्ने दाबी गर्नुभयो । 

चालु आवको पाँच महिनामा तीन लाख २५ हजार ८०९ जनाले विदेश जान श्रम स्वीकृति लिएकोमा दुई लाख १४ हजार २१२ (६६ प्रतिशत) दक्ष भएर विदेश गएको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा अर्धदक्ष ३३ हजार ४४३ (१० प्रतिशत), अदक्ष ७६ हजार ८१ जना (२३ प्रतिशत) वैदेशिक रोजगारीमा गएका छन् भने उच्च सिपयुक्त दुई हजार २७६ जना (०.७० प्रतिशत) रोजगारीका लागि बिदेसिएका छन् । 

दक्ष हुने तिस प्रतिशतले वृद्धि

विगत चार आवको तथ्याङ्क विश्लेषण गर्दा भने वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या बढेको देखिएको छ । आव २०७७/७८ मा भन्दा आव २०८०/८१ मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३० प्रतिशतले बढेको हो । त्यस्तै आव २०७९/८० को तुलनामा भने सात प्रतिशतले बढेको देखिन्छ । 

गत आवमा सात लाख ४१ हजार वैदेशिक रोजगारीमा गएकोमा पाँच लाख ३२ हजार (७२ प्रतिशत) दक्ष भएर वैदेशिक रोजगारीमा गएकोमा आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जना वैदेशिक रोजगारीमा गएकोमा पाँच लाख छ हजार ७४७ जना (६५ प्रतिशत) दक्ष भएर गएको विभागको तथ्याङ्कले देखाउँछ । 

विभागका अनुसार गत आवमा सात लाख ४१ हजारले श्रम स्वीकृति लिएर विदेश गएकामध्ये अर्धदक्ष भएर जानेको सङ्ख्या ६० हजार १२३ जना (८.११ प्रतिशत) रहेको छ भने अदक्ष भएर विदेश जाने एक लाख ४५ हजार ५४७ (२० प्रतिशत) रहेका छन् । यस्तै सो अवधिमा उच्च सिपयुक्त (इन्जिनियर, चिकित्सक, व्यवस्थापक) मा काम गर्न जानेको सङ्ख्या दुई हजार ७७२ जना (०.४७ प्रतिशत) रहेको छ । 

आव २०७९/८० मा सात लाख ७१ हजार वैदेशिक रोजगारीमा गएकोमा अदक्षको सङ्ख्या दुई लाख दुई हजार ६१६ जना (२६ प्रतिशत) रहेको छ । यस्तै अर्धदक्षको सङ्ख्या ६० हजार ५५५ (आठ प्रतिशत) रहेको छ भने उच्च सिपयुक्त (इन्जिनियर, चिकित्सक, व्यवस्थापक) मा काम गर्न जानेको सङ्ख्या एक हजार ४१० जना (०.१७ प्रतिशत) रहेको छ । आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएकामा अर्धदक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ५४ हजार ३२८ जना (नौ प्रतिशत) रहेको छ भने सो अवधिमा अदक्ष दुई लाख ४३ हजार ६८ जना (४५ प्रतिशत) ले श्रम स्वीकृति लिएर गएका थिए । 

सरकारले रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सिपयुक्त प्रमाणपत्रका आधारमा पठाउने व्यवस्था गरेको छ । सिपलाई अनिवार्य गर्न नसके पनि सिप लिएर विदेश जानेको सङ्ख्या क्रमशः बढेको छ । विभागका निर्देशक सुवेदीले वैदेशिक रोजगारीमा जाने र फर्केका श्रमिकका लागि सिपमूलक तालिमलाई अनिवार्य गर्न नसके पनि बढ्ने क्रममा रहेको जानकारी दिनुभयो । 

सरकारले २०७७ भदौबाट तोकिएको क्षेत्र अनुसार एक महिनाको सिपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने जनाउँदै कार्यविधि पनि बनाएको थियो ।