• ४ जेठ २०८१, शुक्रबार

स्थानीय तह निर्वाचन

मधेसमा धमाधम मत परिणाम

blog

जनकपुर, जेठ ७ गते । मधेस प्रदेशका जिल्लाहरूको निर्वाचन परिणाम आउने क्रम जारी छ ।धनुषाको नगराइन नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । 

जनकपुरधाम समाचारदाताका अनुसार नगराइन नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका विनयकुमार यादव ४२ मतान्तरले निर्वाचित हुनुभएको छ । उपप्रमुखमा नेकपा (एमाले)की राधादेवी यादव निर्वाचित हुनुभएको छ । प्रमुख यादवले पाँच हजार ५५६ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामबाबु पजियारले पाँच हजार ५१४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुख राधादेवीले पाँच हजार ७३० मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रञ्जुकुमारी साहले पाँच हजार ५२३ मत प्राप्त गर्नुभएको छ । नौवटा वडा रहेको नगराइनमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले चार/चार वडा जितेका छन् । एक वडामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जित निकालेको छ । नगराइन–१ मा नेपाली काँग्रेसका सीताराम महतो, २ मा लोसपाका बुलन यादव, ३ मा नेपाली काँग्रेसका पल्टु साह तेली, ४ मा नेपाली काँग्रेसका राजकुमार ठाकुर, ५ मा नेकपा (एमाले)का रामनारायण मुखिया, ६ मा नेकपा (एमाले)का ललिता साहु तेली, ७ मा नेपाली काँग्रेसका सूर्यनारायण राउत, ८ मा नेकपा (एमाले)का सञ्जयकुमार राउत र ९ मा पनि नेकपा (एमाले)कै उम्मेदवार रामप्रमोद राउत निर्वाचित हुनुभएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत धनुषाका १८ पालिकामध्ये १० वटाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लाको विदेह, शहीदनगर, कमला, धनुषाधाम, नगराइन र मिथिला नगरपालिकाको परिणाम सार्वजनिक भएका छन् । लक्ष्मीनिया, औरही, धनौजी, जनकनन्दिनी, मुखियापट्टी, मुसहरनिया र बटेश्वर गाउँपालिकाको परिणामसमेत सार्वजनिक भइसकेको छ । महोत्तरीको बर्दिबास नगरपालिकामा बिद्रोही उम्मेदवारले प्रमुख, उपप्रमुखसहित केही वडाध्यक्षमा जितेका छन् । 

जलेश्वर समाचारदाताका अनुसार बर्दिबास नगरपालिका प्रमुख पदमा स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्रीले प्रतिद्वन्द्वीभन्दा पाँच हजार ८८७ मत बढी ल्याएर विजयी हुनुभएको छ । उपप्रमुखमा स्वतन्त्र उम्मेदवार तारादेवी महतो विजयी हुनुभएको छ । बर्दिबास–१, ७, १३ र १४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवार सबै प्रह्लादकुमार क्षेत्रीकै समुहबाट निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेसले उम्मेदवारी दर्ताको अन्तिम क्षणमा चिरञ्जीवी हमाललाई आधिकारिक घोषणा गरेपछि प्रह्लाद बिद्रोही उम्मेदवार बन्नुभएको थियो । उहाँले बिद्रोही समुहको बेग्लै प्यानल बनाउनुभएको थियो । नेपाली काँग्रेसले विज्ञप्ती निकालेर आफ्नो पार्टीको बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न सार्वजनिक अपिलसमेत गरेको थियो । यद्यपि प्रह्लादले आफ्नो उम्मेदवारी कुनै पनि हकमा फिर्ता लिन मान्नुभएन । 

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर वैशाख १२ गते प्रह्लाद र चिरञ्जीवी दुवै प्रमुख पदमा उम्मेदवारी मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुग्नुभएको थियो । सभापति देउवाले निर्वाचन अधिकृतको कार्यालयलाई पुनः पत्र पठाउँदै नेपाली काँग्रेसबाट हमाल आधिकारिक उम्मेद‍वार भएको जानकारी दिएको थियो । त्यसपछि आयोगले हमाललाई नै नेपाली काँग्रेसको आधिकारिक उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेको थियो ।

जेब्रा चिह्न लिएर निर्वाचनमा गएका प्रह्लाद क्षेत्रीले १४ हजार २१० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा तारादेवी महतोले नौ हजार ७३६ मत प्राप्त गर्नुभएको छ । बर्दिबास नगरपालिकाका निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमाल एक हजार २६३ मतसहित चौथो स्थान प्राप्त गर्नुभएको छ । बर्दिबास–१ का नवराज तिमल्सिनाले भन्नुभयो, “जसलाई पार्टीले पत्यायो उ त चौथोमा पो पुगे । बर्दिबासका जनताले यसपाली दलीय एकाधिकार तोडेर स्वतन्त्र उम्मेदवारलाई मतदान गरे ।”

महोत्तरी समाचारदाताका अनुसार जिल्लामा शुक्रबार बिहानसम्म थप चार पालिकाको परिणाम सार्वजनिक भएको छ । जसमा सम्सी गाउँपालिका, लोहारपट्टी नगरपालिका, औरही नगरपालिका, सोनमा गाउँपालिका र बर्दिबास नगरपालिका रहेको छ ।

लोहारपट्टी नगरपालिका प्रमुखमा दोस्रो कार्यकालको लागि नेपाली काँग्रेसका शैलेन्द्रकुमार यादव विजयी हुनुभएको छ ।प्रमुख शैलेन्द्रले पाँच हजार ४२९ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामसुहाग यादवले चार हजार ६७५ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेपाली काँग्रेसकै सरिता शर्माले पाँच हजार २८१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी लोसपाका वहिदा खातुनले चार हजार १४३ मत प्राप्त गर्नुभएको छ । सो नगरपालिका नौ वडामा नेपाली काँग्रेसले पाँच, लोसपाले तीन र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले एउटा वडाध्यक्ष जितेको छ ।

त्यसैगरी सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टीका रामनाथ यादव तीन हजार ८९३ मत ल्याएर अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका उत्तिमप्रसाद यादवलाई एक हजार ३११ मतले पराजय गर्नुभयो । नेपाली काँग्रेसका उत्तिमप्रसाद यादवले दुई हजार ५८२ मत ल्याउनुभयो । त्यस्तै उपाध्यक्ष पदमा जसपाका अनिताकुमारीले काँग्रेसका उर्मिलादेवी साहलाई ६१३ मतले पराजित गर्दै उपाध्यक्ष पदमा विजयी हुनुभयो ।

अनिताले तीन हजार २९५ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी उर्मिलाले दुई हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।सो गाउँपालिकाका सात वडामा नेपाली काँग्रेसले तीन, जसपाले दुई, नेकपा (माओवादी केन्द्र)ले एक तथा स्वतन्त्रले एक वडाध्यक्ष जितेको छ ।

त्यसैगरी जिल्लाको औरहीमा नेपाली काँग्रेसको गढ भत्काउँदै लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो जित हासिल गरेको छ । लोसपाका प्रदीपकुमार खडकाले छ हजार ६७ मत ल्याएर नेपाली काँग्रेसका निवर्तमान नगरप्रमुख सुनीलकुमार यादवलाई हराउनु भएको छ । निवर्तमान नगरप्रमुख यादवले पाँच हजार ७४७ मत ल्याउनुभयो ।

उपप्रमुखमा लोसपाका रेणु झाले पाँच हजार ८०८ मत ल्याएर नेपाली काँग्रेसका रेखा यादवलाई हराउनु भएको छ । रेखा यादवले पाँच हजार ६०५ मत प्राप्त गर्नुभएको छ । औरही नगरपालिकाका नौ वडामा लोसपाले पाँच तथा नेपाली काँग्रेसले चार वडा जितेको छ ।

त्यसैगरी जिल्लाको बर्दिबास नगरपालिकामा नेपाली काँग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका प्रह्लादकुमार क्षेत्रीले माओवादी केन्द्रका नेता राजु खडकालाई पाँच हजार ८८७ मतले पराजित गर्नुभएको हो । प्रमुख क्षेत्रीले १४ हजार २१० मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का राजु खडकाले आठ हजार ३२३ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा स्वतन्त्र उम्मेदवार तारादेवी महतोले नौ हजार ७३६ मत ल्याएर विजयी हुनुभयो । बर्दिबासका १४ वडामा स्वतन्त्रबाट चार, नेकपा (एमाले)ले तीन, नेपाली काँग्रेसले दुई, नेकपा (माओवादी केन्द्र)ले चार तथा लोसपाले एक वडाध्यक्ष हात पारेको छ ।

त्यसैगरी महोत्तरीको सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवाद पार्टीको अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । सोनमा गापा निर्वाचन अधिकृतको कार्यालयका अनुसार लोसपाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार विशेश्वरप्रसाद यादव चार हजार १०८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोखुल यादव तीन हजार २४३ मत प्राप्त गर्नुभएको छ ।त्यसैगरी उपाध्यक्षमा लोसपाका जहिदा खातुनले तीन हजार २९८ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रंजितादेवी यादव तीन हजार २४३ मत प्राप्त गर्नुभयो । १५ पालिका रहेको महोत्तरीमा ११ पालिकाको नतिजा आइसकेको छ । मिथिला प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

Author

मधेस प्रदेश ब्युरो