• ७ पुस २०८१, आइतबार
blog

काठमाडौँ, पुस ३ गते  । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् । उनीहरूले वैदेशिक रोजगारीका क्रममा ठगिएका श्रमिकलाई न्याय दिन सफल भएको भन्दै तथ्यसमेत सार्वजनिक गरिएका छन् तर श्रमिकको पिडा भने आफ्नै छन् ।

 वैदेशिक रोजगार विभागको महानिर्देशक सूर्यबहादुर खत्रीले विभागमा आएका अधिकांश उजुरीको सुनुवाइ गरेको दाबी गर्नुहुन्छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा विभागमा परेका करिब नौ सय उजुरीमध्ये आधार उजुरीको मिलापत्र गरी विगतको तुलनामा धेरै सुधार गरेको उहाँको दाबी छ ।

पर्वतका विवेक अधिकारी भने यो दाबीलाई ठाडै अस्वीकार गर्नुहुन्छ । “पोल्यान्डको स्टार होटेलमा कुकमा काम गर्न गाउँकै चिनेका दाइ पर्नेलाई ऋण गरेर सात लाख रुपियाँ बुझाएको दुई वर्ष भइसक्यो,” उहाँले भन्नुभयो, “विदेश जाने त परैको कुरा त्यो पैसा उठाउने आसमा काठमाडौँ (विभाग) धाउँदा एक लाख रुपियाँ ऋण थपियो ।” अधिकारी जस्ता धेरै युवा युरोपको आकर्षक रोजगारीको प्रलोभनमा परेर ठगिएका छन् । 

आधारभूत हक अधिकारबाटै वञ्चित

श्रमिकको हक अधिकारका लागि ल्याइएका कतिपय दस्ताबेज कागजमा मात्रै सीमित हुँदा उनीहरूले आफ्ना आधारभूत हक अधिकार उपभोग गर्न पाएका छैनन् । आप्रवासी श्रमिकको पारिश्रमिक तथा सेवासुविधामा ठुलो अन्तर छ । एउटा भनेर अर्को काममा लगाउने, भनेजति तलब नदिने, तलब कटौती वा रोक्का गरिदिने, दैनिक १२ घण्टाभन्दा बढी काममा खटाएर पनि ‘ओभरटाइम’ को तलब नदिने जस्ता विद्यमान समस्या श्रमिकसामु छन् । खाने, बस्नेलगायत आधारभूत आवश्यकताका समस्या झेल्न आप्रवासी श्रमिक बाध्य छन् । मलेसियालगायत कतार, साउदी, कुवेत, बहराइन, ओमानलगायत मुलुकमा आप्रवासी श्रमिकलाई पशुसरह व्यवहार गरिने प्रवृत्तिले बढावा पाइरहेको छ । श्रमिक बिरामी हुँदा औषधोपचार नगरी काममा खटाइएका गुनासा बढिरहेका छन् । करार अवधि सकिएपछि पनि उनीलाई स्वदेश फर्कन नदिई बन्धक बनाएर राख्ने प्रवृत्ति पनि पेचिलो बन्दै गइरहेको छ । 

डेढ दशकमा साढे चौध हजारको मृत्यु 

 वैदेशिक रोजगार प्रवर्धन बोडका अनुसार गएको १५ वर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजार ४४० जनाले ज्यान गुमाएका छन् । गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका तीन हजार ४४० श्रमिकले बोर्डबाट आर्थिक सहायता प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी वैदेशिक रोजगारीले देशको अर्थतन्त्र उकासन महìवपूर्ण हुँदाहुँदै पनि यसमा बेथिति पनि बढेको स्वीकार गर्नुहुन्छ । स्वदेशमा श्रम शक्तिको अभाव, सामाजिक रूपमा पारिवारिक विखण्डनलगायतका नकारात्मक प्रभाव एवं बौद्धिक तथा श्रम पलायन जस्ता प्रमुख चुनौती बढ्दै गएको उहाँको भनाइ छ । 

विश्व बैङ्कको अक्टोबर २०२४ को प्रतिवेदन अनुसार नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी रहनुले वैदेशिक रोजगारको महत्वलाई उजागर गरेको भए पनि यस क्षेत्रलाई सुरक्षित बनाउन सकिएको छैन । यसरी वैदेशिक रोजगारीबाट ५६ प्रतिशत घरधुरीले नियमित रूपमा विप्रेषण पाइरहेको तथ्यलाई मान्दा र प्रतिघरधुरी औसत परिवार सङ्ख्या ४.८८ का आधारमा नेपालमा हाल ३० लाख ३९ हजार घरधुरीका एक करोड ४८ लाखभन्दा बढी मानिस अहिले पनि वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषणमा आश्रित रहेका छन् ।