काठमाडौँ, मङ्सिर १४ गते । नेपालमा चिकित्सकको सल्लाहबिना लिङ्ग परिवर्तनका लागि कृत्रिम हर्मोनको प्रयोग गर्ने गरेको पाइएको छ । धेरैजसो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसले हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो ।
यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिले लिङ्ग परिवर्तनका लागि जथाभाबी हर्मोनको औषधी प्रयोग गरेको पाइएको छ । यौनिक तथा अल्पसङ्ख्यक समुदायको क्षेत्रमा काम गर्दै आउनुभएकी एन्जल लामाले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिले लिङ्ग परिवर्तनका लागि जथाभाबी औषधीहरू सेवन गर्ने गरेको बताउनुभयो । पारालैङ्गिकमध्ये ८० प्रतिशतले चिकित्सकको परामर्शबिना हर्मोनको औषधी सेवन गरिरहेको जानकारी दिँदै लामाले चिकित्सकको सल्लाह र परीक्षणबिना हर्मोनको औषधी सेवन गर्न नहुने बताउनुभयो । उहाँले लिङ्ग परिवर्तन गर्न नेपालमा सम्भव नभएको भन्दै आर्थिक क्षमता भएकाहरू भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पनि लिङ्ग परिवर्तन गराइरहेको बताउनुभयो । उहाँले शल्यक्रिया गर्न नसक्नेहरूले नेपालमा जथाभावी हर्मोन परिवर्तनका लागि औषधी सेवन गरिरहेको बताउनुभयो । उहाँले आफूखुसी हर्मोनको औषधी सेवनबारे व्यापक रूपमा जनचेतना जगाउनुपर्ने बताउनुभयो ।
हर्मोन तथा थाइराइड रोग विशेषज्ञ डा. विनय भट्टराईले हर्मोनको जथाभाबी सेवन गर्दा समस्या हुने बताउनुभयो । उहाँले अधिकांश यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्ने गरे पनि कतिपयले भने आफूखुसी खाने गरेको बताउनुभयो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले हर्मोन सेवन गर्दा चिकित्सकको परामर्शमा परीक्षण गरेर मात्र सेवन गर्न सुझाव दिनुभयो । उहाँले हर्मोनल पिलहरू टेस्टोस्टेरोन, इस्ट्रोजेन र प्रोजेस्ट्रोनले शरीरको हर्मोनल सन्तुलनमा परिवर्तन ल्याउन सक्ने जानकारी पनि दिनुभयो । उहाँले पिलहरू डाक्टरको सल्लाहबिना लिइन्छ भने यसले शरीरमा असमान हर्मोनल स्तरहरू सिर्जना गर्न सक्ने बताउनुभयो । उहाँले हर्मोनको आफूखुसी प्रयोगले अनियमित महिनावारी, प्रजनन तथा मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने बताउनुभयो ।
मकवानपुरका सञ्जीव शर्मा (नाम परिवर्तन) पहिले बालिका भएर जन्मनुभएको थियो । विद्यालय अध्ययन गर्दै जाँदा उहाँलाई आफू बालक भएको महसुस हुन थाल्यो । यो कुरा कसरी समाजमा ल्याउने भन्ने चिन्ताले पिरोलिनुहुन्थ्यो । बिस्तारै आफू केटा महसुस भएको साथीभाइ र परिवारलाई भन्नुभयो तर उहाँको कुरा परिवारले सहजै स्वीकार गरेन । त्यही कारण उहाँले विष सेवन गर्नुभएको थियो । भरतपुर अस्पतालमा ल्याएर दुई हप्ता उपचार गराएपछि उहाँलाई ठिक भयो । उहाँ हाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको संस्थामा आबद्ध हुनुहुन्छ । उहाँले आफू अहिले पुरुष जस्तो देखिए पनि आवश्यक पर्दा गर्भवतीसमेत हुन सक्ने बताउनुभयो ।
“मैले अहिले पनि लिङ्ग परिवर्तनका लागि हर्मोनको औषधी प्रयोग गरिरहेको छु,” शर्माले भन्नुभयो, “नियमित औषधी सेवन नगरेको अवस्थामा असहज हुने गर्दछ ।” नेपालमा यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू लिङ्ग परिवर्तन गर्नका लागि महिलाबाट पुरुष बन्टेस्टोस्ट्रोन र पुरुषबाट महिला बन्प्रोजेस्ट्रोन हर्मोन अत्यधिक रूपमा प्रयोग गर्ने गरेका छन् ।
लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायमा कार्यरत पिटरले हर्मोन सेवनले हुने क्षतिबारे जनचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले हर्मोन सेवन गरेर लिङ्ग परिवर्तन गर्दा त्यसबाट हुने प्रभावबारे जनचेतना जगाउनुपर्ने उहाँको भनाइ छ ।
चिकित्सा विज्ञानमा पुरुष शरीरलाई महिला बनाउन ‘एस्ट्रोजेन’ तथा ‘प्रोजेस्टेरोन’ र महिला शरीरलाई पुरुष बनाउन ‘टेस्टोस्टेरोन’ हर्मोन प्रयोग गरिन्छ । नेपालमा एस्ट्रोजेन चक्की र जेलमा, प्रोजेस्टेरोन र टेस्टोस्टेरोन सुईका रूपमा र ‘ब्लकर’ चक्की पाइन्छ । लामाले नेपालमा साथीहरूको लहैलहैमा, इन्टरनेटमा हेरेको भरमा परीक्षणबिना हर्मोनसम्बन्धी औषधी खाने गरेको बताउनुभयो । नेपालमा हर्मोन प्रयोगका लागि कुनै पनि नीति नियमहरू हालसम्म बनेको छैन । नेपालमा हर्मोन प्रयोगको कुनै पनि निश्चित नियम नभएका कारण पनि यसको प्रयोग व्यवस्थित हुन सकेको छैन ।
डा. भट्टराईले हर्मोनको प्रयोग गर्नु आफैँमा नराम्रो नभई चिकित्सकको परामर्श र सल्लाह अनिवार्य रहेको बताउनुभयो । विशेष गरी लैङ्गिक अल्पसङ्ख्यक पारलैङ्गिक व्यक्तिहरू सङ्कुचित समाज, अस्पतालहरूमा हुन सक्ने दुव्र्यवहार र चेतनाको कमीका कारण खुलेर परामर्श लिन जाँदैनन् ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                