• १२ कात्तिक २०८१, सोमबार

श्रमिकलाई बढाइएको आर्थिक सहायता लागु

blog

काठमाडौँ, कात्तिक १२ गते । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामी भएकाका लागि बढाइएको आर्थिक सहायता लागु भएको छ । सरकारले कात्तिक ८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै वृद्धि गरेर १० लाख रुपियाँ पुर्‍याइएको वैदेशिक आर्थिक सहायता लागु भएको हो । 

यसअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार र विदेशमा रोजगारीकै क्रममा गम्भीर बिरामी वा अङ्गभङ्ग भएकाले आर्थिक सहायताबापत प्रतिव्यक्ति सात लाख रुपियाँ पाउँदै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार (छैटौँ संशोधन) नियमावली–२०८१ मार्फत वैदेशिक रोजगारीका क्रममा मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामीले प्राप्त गर्ने आर्थिक सहायताबापतको रकम वृद्धि गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले हाल दिँदै आएको आर्थिक सहायताबापतको रकम थोरै भएकाले अहिले पाउँदै आएकोमा तीन लाख वृद्धि गरी १० लाख रुपियाँ पु¥याइएको जानकारी दिनुभयो । यस प्रकारको आर्थिक सहायता रकम वैदेशिक रोजगारीका क्रममा वा नेपाल फर्किएको एक वर्षसम्म मृत्यु भएमा प्रतिपरिवार १० लाख रुपियाँ दिने गरी नियमावली संशोधन गरी कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो ।

गत असोजमा बसेको मन्त्रीपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधनलाई स्वीकृत गर्दै आर्थिक सहायता रकम बढाउने निर्णय गरेको थियो । सहायता रकमसम्बन्धी निर्णय धेरै पुरानो भएको र अहिलेको अवस्थामा कम भएकाले बढाउने निर्णय गरिएको श्रममन्त्री भण्डारीले जानकारी दिनुभयो । 

यसअघि २०८० साउनमा नै श्रममन्त्री भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको बैठकले आर्थिक सहायता रकम बढाउने निर्णय गरेको थियो । बोर्डबाट २०६५ सालदेखि मृतकका आफन्त तथा अङ्गभङ्ग भएका श्रमिकलाई आर्थिक सहायता दिन थालिएको हो । 

सुरुमा आर्थिक सहायतास्वरूप मृतकका परिवारलाई तीन लाख रुपियाँ दिने गरिएको थियो । आर्थिक वर्ष २०७४/७५ देखि बढाएर सात लाख रुपियाँ पु¥याइएको थियो । बोर्डले वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका तथा बिरामीसमेत आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । 

अङ्गभङ्ग भएर फर्किएका व्यक्तिको अवस्था हेरेर न्यूनतम २५ हजारदेखि बढीमा सात लाख रुपियाँसम्म उपलब्ध गराउँदै आएको छ । अब भने थोरैमा २५ हजारदेखि बढीमा १० लाख रुपियाँसम्म पाउने छन् । वैदेशिक रोजगारीका क्रममा कसैको ज्यान गए शव नेपाल झिकाउने तथा शवलाई घाटसम्म पु¥याउन पनि बोर्डले सहयोग गर्दै आएको छ । यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपियाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । 

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवार वैदेशिक रोजगारीकै क्रममा अङ्गभङ्ग भएर फर्किएमा श्रमिकको वृद्धि गरिएको १० लाख आर्थिक सहायता रकम नेपाल राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको छ । वैदेशिक रोजगारीका क्रममा ठुलो सङ्ख्यामा युवाले ज्यान गुमाउने तथा अङ्गभङ्ग भएर फर्कने गरेका छन् । आव २०८०/८१ मा एक हजार एक हजार ३४६ युवाले ज्यान गुमाएका छन् । गत आवमा वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ६५३ जनालाई आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ । 

मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम स्थानीय तहमा निवेदन दिएर अनलाइनमार्पmत कागजात चेकजाँच गर्ने प्रविधिको विकास गरेसँगै सेवाग्राही सङ्ख्या बढेको बोर्डको दाबी छ । वैदेशिक रोजगारीका क्रममा अधिकांशको मुत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्याको ठुलो सङ्ख्या छ । 

वैदेशिक रोजगारका विज्ञ रामेश्वर नेपालले वैदेशिक रोजगारमा मृत्यु हुनुको प्रमुख कारण विदेश जानेलाई अपेक्षा धेरै देखाइने तर पर्याप्त सूचना नहुनु र धोकापूर्ण श्रमिक भर्ना प्रक्रिया रहेको बताउनुभयो । वैदेशिक रोजगारीमा जाने युवालाई समयमै आधारभूत विषयमा पर्याप्त सूचना दिएर पठाउन सकियो भने विदेशमा हुने मृत्युका घटनालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ ।