• १२ कात्तिक २०८१, सोमबार

फुङ्लिङ रिपोर्टिङ क्लबलाई फुटबल उपाधि

blog

ट्रफीका साथ उपाधि विजेता फुङ्लिङ रिपोर्टिङ क्लबका खेलाडीलगायत । तस्बिर: गोरखापत्र

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको फुङ्लिङमा सम्पन्न स्वर्गीय चन्द्रबहादुर नयोङ्हाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि फुङ्लिङ रिपोर्टिङ क्लबले जितेको छ । फाइनलमा मिलन चौतारी युवा क्लब खोक्सेलाई ५–४ गोल अन्तरले पराजित गर्दै फुङ्लिङले उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टोली गोलरहित भएपछि खेत प्यानल्टी सुट आउट (ट्राई बेकर)तर्फ धकेलिएको थियो । प्यानल्टी सुट आउटमा फुङ्लिङले मिलन चौतारीलाई पराजित गर्न सफल भएको हो । उपाधि जितसँगै फुङ्लिङले ८१ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । 

उपविजेता बनेको मिलन चौतारीले नगद ४१ हजार १११ रुपियाँ र ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । तेस्रो संस्करणअन्तर्गतको फुटबल प्रतियोगिता कात्तिक ४ गते आइतबारदेखि सुरु भई शुक्रबार सम्पन्न भएको हो । दसैँ तिहारको अवसर पारेर आयोजित प्रतियोगिता पाथीभरा बहुमुखी क्याम्पसको खेल मैदानमा खेलाइएको थियो । आयोजक कर्णसिंह सोनाम फुटबल क्लब, प्रतियोगिता सञ्चालन समितिका अध्यक्ष मनकुमार लिम्बूका अनुसार २० टोलीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।