विमल कोइराला
ठूलो घर छ, ठूलै बैठक
प्रशस्तै कोठाहरू छन् र तिनै कोठाहरूमा
यताउति चहार्दै बसेका छन् एक दम्पती
सबथोक छ तर रित्ता छन्,
फगत दलिन र भित्ता छन्,
बाहिर एउटा भोको घरवारविहीन
दुःखी स्वरमा मागिरहेछ,
उसले देख्छ कि भनेर ढोका बन्द गरी सुतेका छन् ।
सँगसँगै जस्तो जन्म्यौँ
सँगै हुक्र्यौं–बढ्यौँ
उमेर छिप्पिन थालेपछि म स्कुल जान थालेँ
क्रमशः कलेज र विश्वविद्यालय
ऊ भने गरिब बाबुको स्याहार गर्न
श्रम गर्न थाली सानैदेखि
र अहिले उसका छोराछोरीहरू
उसले बाबुलाई स्याहारेझैँ
उसलाई स्याहारी बस्तै छन् ।
हामीलाई गरिब–धनी भन्ने नै हुँदैन भनेर पढाइयो
हामीलाई सबैलाई आत्मनिर्णयको अधिकार हुन्छ भन्ने सिकाइयो
विद्रोह गर्ने तालिम दिइयो,
मारकाट सिकाइयो,
ऊ भने चालै नपाई
भ¥याङ चढ्दै गयो र शिखरमा पुग्यो
आफू उक्लिसकेपछि भ¥याङ झा¥यो
हामी अझै तलबाट हेर्दैछौँ
ऊ भने नदेखिने गरी बिलायो ।
कोही सामरिक स्वार्थ बोकेर
कोही सिमानामा पसल थापेर
कोही स्रोत–साधनका निम्ति
कोही सद्भावलाई कमजोरी ठानेर
घुमाइरहेछन्–घुमाइरहेछन् फन्फनी
हामी भने कहिले यता, कहिले उता
अक्सर यता न उता ।