बिष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर ६ गते । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ११ राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चार हजार राउण्ड गोली लुटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार दमक वडा नं. ७ स्थित मानव सेवा आश्रम नजिकै भित्री सडकमा शुक्रबार बेलुका बेवारिसे अवस्थामा गोली भेटिएको हो ।
एसएलआरका ५ राउण्ड, इन्सासका तीन राउण्ड र ३०३ राइफलका तीन राउण्ड गोली फेला परेको खड्काले जानकारी दिनुभयो ।
आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट २० थान हतियार लुटिएकोमा अहिलेसम्म तीन थानमात्र फेला परेको छ ।
बाँकी १७ थान हतियार खोजी कार्य तीब्र बनाइएको खड्काले जनाउनु भएको छ ।घटनामा संलग्नहरूको पहिचान र खोजी कार्य तीब्र बनाएपछि हतियार र गोली भेटिन थालेको प्रहरीको भनाइ छ ।
यसैगरी, जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका दुई थुनुवालाई प्रहरीले उनीहरूको घरबाट नै पक्राउ गरेको छ ।
लागूऔषध मुद्दाका आरोपी कनकाई–२ का ३३ वर्षीय रमेश मुखिया सुनुवार र कनकाई–३ का ४२ वर्षीय चन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।