शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हिँड्दा ठेस लागिहाल्छ, नुहाउँदा केश झरिहाल्छ
जहाँ लुकौँ जता भागौँ, एक दिन जानै परिहाल्छ ।
चिरञ्जीवी भए भन्लान्, दुबो जस्तै रहे भन्लान्
धर्ती जस्तै धीर भई, सकेसम्म सहे भन्लान्
वसन्त नै आए पनि, पुरानो पात मरिहाल्छ
जसको आशिष् थापे पनि, एक दिन जानै परिहाल्छ ।
सुखलाई शिरफूल जस्तै सम्झिएर गाए भन्लान्
दुःखलाई पाउजु कल्ली बनाएर लाए भन्लान्
सुख आउला इन्द्रेणी झैँ, दुःख पनि टरिहाल्छ
अजम्बरी चोला होइन, एक दिन जानै परिहाल्छ ।
बोलीवचन फरासिलो, मिजासिलो हुनु भन्लान्
वेदनाको चट्याङ खसे, आफ्नासँगै रुनु भन्लान्
रस, गुण सोह्र शृङ्गार, फूलमा माहुरी चरिहाल्छ
अमृतको घडा छैन, एक दिन जानै परिहाल्छ ।