शैलुङ गाउँपालिकामा निर्माणाधीन शैलुङ मिनी ग्रेटवालप्रति पर्यटक आकर्षित बन्दै आएका छन् । शैलुङडाँडामा फैलिएको ग्रेटवालमा हिँड्दै हिमाल र शैलुङको सौन्दर्य नियाल्न पर्यटक लोभिने गरेका छन् । शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठका अनुसार पछिल्लो वर्षमा शैलुङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा समेत उल्लेखनीय वृद्धि भएको छ । ग्रेटवालमा हिँड्नुका साथै ध्यान, अध्ययन, अनुसन्धान र अवलोकनको उद्देश्यले समेत स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । शैलुङमा खास गरी बिदाका दिन पर्यटकको भिड देखिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङमा ग्रेटवाल निर्माण कार्य अघि बढाइएको हो । सङ्घीय सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लगानीमा यो परियोजना अघि बढाइएको हो । प्रारम्भिक चरणमा पाँच सय मिटर लम्बाइको ग्रेटवाल निर्माणका लागि चार करोड ९४ लाख १५ हजार ४१८ रुपियाँको लागतमा ठेक्का सम्झौता गरिएको जनाइएको छ । शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफे ढुङ्गासम्म एक किलोमिटर लामो ग्रेटवाल निर्माण गरिने योजना छ । बागमती प्रदेश सरकारले ग्रेटवाल निर्माण र पर्यटन प्रवर्धनका लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
शैलुङ ग्रेटवालले दोलखाको पर्यटन क्षेत्रलाई नयाँ आयाम दिएको छ । यसले केवल भौतिक संरचना निर्माण मात्र होइन, स्थानीय आर्थिक गतिविधि, होटेल व्यवसाय, यातायात र हस्तकलामा समेत वृद्धि गरिरहेको छ ।
स्थानीय सरकार र सङ्घीय सरकारको सहकार्यमा अघि बढिरहेको यो परियोजना पूरा भएपछि शैलुङ धार्मिक स्थल मात्र होइन; राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीय जनप्रतिनिधिको विश्वास छ ।
सुजन काफ्ले