• ६ मंसिर २०८२, शनिबार

गन्तव्य कुरी उक्लेर कालिञ्चोक

blog

हिमवत्खण्डमा कालिञ्चोक क्षेत्रलाई तपोभूमिका रूपमा लिइन्छ । यो देवभूमि, तपोभूमि मात्र होइन; पुण्यभूमि पनि हो । सन्त महात्माहरू खप्तड बाबा, शिवपुरी बाबा, श्यामचेतन बाबा, नारायण गिरी, कालिञ्चोक बाबा, केवल आनन्द सरस्वतीले तपस्या गरेको भूमि हो, कालिञ्चोक । कालिञ्चोकबाट गौरीशङ्कर हिमाल दर्शन गर्न पाइन्छ । रोल्वालिङ, गणेश हिमाल, जुगललगायत हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

कालिञ्चोक मन्दिरको फेदीमा रहेको सानो उपत्यका कुरी क्षेत्र सुन्दर सहरका रूपमा परिणत भइसकेको छ । हिउँ परेको समयमा साँझको कुरीबजारको चहलपहल लोभलाग्दो हुन्छ । लालीगुराँस र चिमालको शोभा, साँझको बेला बत्तीको रङ्गीचङ्गी सौन्दर्यले कुरीबजारले बेग्लै अनुभूति दिने गरेको छ । 

बिदा र चाडबाड परेको दिन कालिञ्चोकमा निकै घुइँचो हुने गर्छ । कालिञ्चोकको दर्शन, पूजन गरेमा इच्छा पूरा हुने जनविश्वास छ । जनैपूर्णिमा, कृष्णाष्टमी, बडादसैँ, कागेअष्टमी, चैतेदसैँमा विशेष मेला लाग्ने गर्छ ।  धार्मिक ग्रन्थका अनुसार कालिञ्चोक देवीको उत्पत्ति सत्ययुगमा भएको पाइन्छ । दैत्यको नाश गरी सृष्टिको रक्षा गर्न काली उत्पत्ति भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । 

कालिञ्चोक मन्दिरका मुख्य पुजारी गणेशप्रसाद घिमिरेका अनुसार दैत्यहरूले देवतालाई धेरै दुःख दिएपछि दैत्यको अन्त्य गर्न कालीको उत्पत्ति भएको हो । ब्रह्मा, विष्णु र महेश्वरले दैत्यहरू नाश गर्न के गर्ने भन्ने विषयमा छलफल भइरहेको थियो । शिव भगवान्ले राक्षसहरूको अन्त्य गर्नका लागि पार्वतीको अर्को रूपमा कालीको अवतार बनाएको भन्ने धार्मिक ग्रन्थमा उल्लेख छ । पौराणिक कालमा कालिञ्चोकमा भेडीगोठ थियो । त्यहाँ ठुलो चरन क्षेत्र भएकाले एक जना मगरले भेडीगोठ राखेको प्रसङ्ग चर्चा गर्दै मुख्य पुजारी घिमिरेले किंवदन्ती सुनाउनुभयो । किंवदन्ती अनुसार भेडा चराउने व्रmममा हरेक दिन एउटा भेडी हराउने गरेको र सात वटा भेडी हराएपछि खोजी गर्दा प्रत्येक भेडीले कुण्डमा पसेर दुध चढाउने गरेको पाइयो ।  पछि भेडीकै दुध र घिउ ल्याएर पूजा गरी दैत्यलाई शान्त पार्न एउटा भेडी बलि दिएपछि भेडीहरू फिर्ता भएका थिए । दैत्यको नाश गरेर सृष्टिको रक्षा गर्न उत्पत्ति भएको देवी भएकाले भक्तजनले एक चिज हृदयदेखि शुद्ध मनले मागेमा मनोकामना पूरा हुने जनविश्वास पनि रहिआएको छ । 

सुनकोशी–तामाकोशी शिर

समुद्री सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक टाकुराको लम्बाइ करिब ६९ मिटर र चौडाइ सरदर २३ मिटर रहेको छ । त्रिशूल नै त्रिशूलको घेराभित्र एउटा सानो कुण्ड छ । लेखक एवं पत्रकार रोहिनीप्रसाद घिमिरेको कृति ‘उत्कृष्ट गन्तव्य कालिञ्चोक’ पुस्तकमा ‘पौराणिक कालमा कालिका देवी यसै क्षेत्रमा प्रादुर्भाव भई असुरहरूको संहार गरेपछि यही कुण्ड स्थापना भएको र यस टाकुराको नाम कालिञ्चोक रहन गएको हो’ भनी उल्लेख छ ।

कालिञ्चोक मन्दिरमा पहिला भक्तजन आफैँले पूजा गर्ने चलन थियो । अहिले भक्तजनको घुइँचो भएपछि पुजारीको पनि व्यवस्था गरिएको हो । मन्दिरका मुख्य पुजारी घिमिरेका अनुसार मन्दिरको कुण्डमा पानी नै भुलभुल आउने होइन । कुण्डमा जति खन्यो, त्यति ढुङ्गा नै छ । पसिना आए जसरी आएर जल उत्पन्न हुन्छ ।  मार्कण्डेय पुराण अन्तर्गत सप्तशती चण्डीमा उल्लेख भए अनुसार शुम्भ, निशुम्भ जस्ता दानवबाट पराजित भई देवताहरू यस ठाउँमा आएर नारी रूप देवीको स्तुति गर्न लागे । कौशिकी देवी कालो रूप धारण गरी कालिका नामले प्रसिद्ध हुन पुगिन् अनि शुम्भादि दानवलाई मारेर देवतालाई स्वर्ग पठाइन् भन्ने उल्लेख छ । कालिञ्चोक टाकुरा पुग्नुभन्दा पहिला दुई धारा छन् । तीमध्ये एउटा धारा तामाधारा तामाकोशी भएर बग्छ । अर्को धारा सुनधारा सुनकोशीतिर बग्छ । 

तपोभूमि 

कालिञ्चोक मन्दिर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ । त्यो मात्र होइन, यो तपोभूमि पनि हो । सन्त महात्माहरू खप्तड (काश्मीरी) बाबा, शिवपुरी बाबा, श्यामचेतन बाबा, नारायण गिरी, कालिञ्चोक बाबा, केवल आनन्द सरस्वतीले बसेर तपस्या गरेको भूमि हो ।  लेखक रोहिनीप्रसाद घिमिरेका अनुसार विसं २०३७ तिर कालिञ्चोकमा एउटा जोगीको कुटी मात्र थियो । तपोमूमि खोज्दै जाँदा खप्तड बाबा, शिवपुरी बाबाले त्यहीँ बसेर तपस्या गर्नुभयो । त्यसपछि श्यामचेतन बाबा, नारायण गिरी, कालिञ्चोक बाबा, केवल आनन्द सरस्वती नाम गरेका चर्चित सन्त योगीहरूले यसै स्थानमा बसेर ध्यान गर्नुभयो । त्यसैले यो सिद्धि स्थान हो, अत्यन्तै पवित्र स्थान हो । नेपाल सरकारले पनि कालिञ्चोक मन्दिरलाई नेपालका सय वटा उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येमा राखेको छ । 

बोन संस्कृतिको केन्द्र

कालिञ्चोक मन्दिरमा पहिला बोन संस्कृति अनुरूप पूजा प्रार्थना गरिन्थ्यो । धामीझाँव्रmी ढ्याङ्ग्रो बजाउँदै गएर पूजा गर्ने चलन थियो । जनैपूर्णिमादेखि कार्तिकपूर्णिमासम्म तामाङ, थामी आदि जनजाति समुदायमा ढ्याङ्ग्रोमा त्रिशूल राखेर बजाउँदै आएर पूजा प्रार्थना गर्ने चलन थियो । क्षेत्री, ब्राह्मण आफैँ गएर पूजा गर्ने गर्थे । कालिञ्चोक भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार लामाका अनुसार यो मन्दिरमा पहिला पुजारी राख्ने परम्परा थिएन । बस्ने ठाउँ नभएको र धेरै उचाइमा भएकाले पनि पुजारी राख्ने गरिएको थिएन । यसरी ब्राह्मण पुजारी राखेको चार÷पाँच वर्ष मात्रै भयो ।

उहाँका अनुसार जनैपूर्णिमादेखि कार्तिकपूर्णिमासम्म तामाङ, थामी आदि जनजाति समुदायमा ढ्याङ्ग्रोमा त्रिशूल राखेर बजाउँदै आई देवी पुज्ने चलन थियो, अहिले पनि त्यो छ । जनैपूर्णिमादेखि कार्तिकपूर्णिमासम्म दोलखा, सिन्धुपाल्चोक, सिन्धुलीलगायत स्थानबाट धामीझाँव्रmी शक्ति साधना र प्रार्थना गर्न यहाँ आउने गर्छन् । अहिले वार्षिक करिब साढे दुई लाख भक्तजन आउने आकलन छ । कालिञ्चोक दर्शन गर्न भारतलगायत देशका भक्तजन पनि आउने गरेका पाइन्छ । 

कुरीबाट कालिञ्चोकसम्म जान केबुलकारको पनि व्यवस्था छ तथापि कुरीबाट एक्कासि कालिञ्चोक केबुलकारमा पुग्दा लेक लाग्नेसमेत समस्या रहेको पाइन्छ । त्यसैले कतिपय मानिस हिँडेरै जाने गरेको पनि पाइन्छ । अध्यक्ष चन्द्रकुमार लामा कालिनेकमा लेक लागेको अवस्थामा औषधी र मेडिकल समूह पनि खटाउने तयारी गरिएको बताउनुहुन्छ । मन्दिर व्यवस्थापनमा पहिला जिल्ला प्रशासन कार्यालयका प्रमुख अध्यक्ष हुने चलन थियो । पुरातŒव विभाग र गुठी संस्थानको समन्वयमा २०८२ साल असोजको १० देखि स्थानीय तहले मन्दिर सञ्चालन गर्न अनमिति पाएको छ । 

कालिञ्चोक भवगती मन्दिरमा बलि दिएको रगत आएर त्यहाँ जम्मा भई कुहिएर त्यसको नाम नै कुरी रहन गएको किंवदन्ती छ । पहिला यो क्षेत्र चौँरी चलाउने खर्क थियो । अहिले सुविधासम्पन्न होटेलले भरिएको छ । उचाइमा मन्दिर भए पनि कुरीबजार थुम्की थुम्की परेको गहिरो स्थानमा छ । 

होटेल व्यवसायी हरिप्रसाद ओलीका अनुसार कुरीबजारमा अहिले ५० लाखदेखि पाँच करोड रुपियाँसम्मको लगानीमा बनेका ५०÷५५ वटा आरामदायी होटेल छन् । यात्रुलाई खान र बस्न राम्रो व्यवस्था छ । कुरीबजारबाट मन्दिरमा केबुलकारबाट जान आउन छ सय रुपियाँ लाग्छ । हिँडेर कालिञ्चोक जान कुरीबजारबाट करिब एक घण्टा लाग्छ । हिँडेर जानसमेत सिँढी र बार हालिएको राम्रो बाटो छ । उहाँका अनुसार तीर्थयात्रीको सहजताका लागि ट्राभल र होटेलले काठमाडौँबाट तीन हजार पाँच सय रुपियाँदेखि छ हजारसम्म प्रतिव्यक्ति प्याकेज बनाइएको छ । ठाउँ अनुसार बस, आवास, खानाको प्याकेज भएको हुँदा अहिले यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइन्छ ।

कालिञ्चोक मन्दिरसम्म पुग्न सडक सुधारमा स्थानीय तहले पहल गरिरहेका छन् । स्वास्थ्य र सुरक्षाको प्रबन्ध गरिएको छ । पुरातŒव विभागले मन्दिर निर्माणमा सहयोग गरेको छ । 

कालिञ्चोक यात्रा कसरी ?

सडक सञ्जालले कालिञ्चोकको यात्रा सहज बनाएको छ । नेपालका जुनसुकै स्थानबाट दोलखाको सदरमुकाम चरीकोट पुग्न सहज छ । सार्वजनिक वा निजी सवारीसाधनमा सडकमार्ग हुँदै सजिलै पुग्न सकिन्छ । चरीकोटमा बस्न सामान्यदेखि सुविधासम्पन्न होटेल र लज प्रशस्त छन् । सिधै कुरीबजार पुगेर पनि बस्न सकिन्छ । भोलिपल्ट बिहान कुरीबाट मनोरम दृश्य अवलोकन गर्दै हिँडेरै कालिञ्चोक मन्दिरमा पुग्न सकिन्छ । ठाडो उकालो र लेक लाग्ने भएकाले हिँड्दै जाँदा राम्रो हुन्छ ।

केबुलकारले बालक, वृद्ध, अशक्त जोसुकैका लागि कालिञ्चोक पुग्न सहज बनाएको छ । चरीकोटदेखि कुरीसम्म १८ किलोमिटर सडक राम्रै अवस्थामा छ । कतिपय स्थानमा कालोपत्रे गरिएको छ । देउरालीमा खाजा खाँदै सुन्दर हरियाली जङ्गल, पहाड अवलोकलन गर्दै जान सकिन्छ । काठमाडौँ–चरीकोट १३५ किमी गाडीमा जान चार÷पाँच घण्टा लाग्छ । चरीकोट–कुरी १८ किमीका लागि गाडीमा डेढ घण्टा लाग्छ । पैदल यात्रा गर्दा पाँच/छ घण्टा लाग्छ ।