• ६ मंसिर २०८२, शनिबार

हुम्लामा सहुलियत मूल्यको खाद्यान्न कोटा थप

blog

राजन रावत

 हुम्ला, मङ्सिर ६ गते । खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्यको खाद्यान्न कोटा थप गरेको छ । 

यसअघि लिमिटेडले सिमकोट शाखा र दुई वटा डिपोबाट निर्धारण गरेको खाद्यान्न सबै बिक्री भएपछि उक्त मूल्यको खाद्यान्न थप गरिएको हो ।

 लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णबहादुर थापामगरका अनुसार लिमिटेडले सहुलियत मूल्यको खाद्यान्न कोटा थप भएको छ ।सो थपिएको सहुलियत मूल्यको खाद्यान्न शाखा र डिपोमा बिक्री समेत सुरु भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार दोस्रो पटक थपिएको सहुलियत मूल्यको खाद्यान्न कोटामा दुई हजार पाँच सय क्विन्टल खाद्यान्न एक सय क्विन्टल चिनी र दुई हजार लिटर तेल रहेको छ । 

यो सहुलियत मूल्यको खाद्यान्न उपभोक्ताको माग अनुसार लिमीटेडले थप गरेको हो । गत भदौ ३० गतेबाट सहुलियत पसलबाट चामल, तेल र चिनी बिक्री सुरु गरिएको थियो । 

हालसम्म दुई हजार ४०३ क्विन्टल खाद्यान्न, ४४ दशमलव ४९ क्विन्टल चिनी र दुई हजार २३९ लिटर तेल बिक्री हुँदा एक करोड ८६ लाख १५ हजार ५३४ रुपियाँको बिक्री भएको छ । 

खाद्यान्न बिक्रीमा शाखासँग सात प्रकारको चामल रहेकोमा उपभोक्ताको चाहना अनुसार सबै खाले चामल बिक्री भई रहेको छ ।

 उपभोक्ताको आवश्यकता अनुसार चारदेखि पाँच बोरा चामल बिक्री गर्ने गरिएको थियो ।

त्यसैगरी अदानचुली गाउँपालिकाको डिपो कार्यालय श्रीनगर, सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपो, नाम्खा गाउँपालिकाको बिक्री केन्द्र याल्वाङबाट सहुलियत पसलबाट खाद्यान्न बिक्री भएको थियो ।

लिमिटेडले चाडपर्व लक्षित गरि चामल र चिनीमा प्रतिकेजी पाँच रुपियाँ तथा तेलमा प्रतिलिटर सात रुपियाँ छुटको ब्यवस्था गरेको थियो ।