• १३ असोज २०८१, आइतबार

अविरल घनघोर वर्षा

राजधानीमा हालसम्मकै धेरै २३९.७ मिलिमिटर वर्षा

blog

ललितपुरको नक्खु खोलामा लेदोसहित आएको बाढीको भयानक रूप । तस्बिर : कविन अधिकारी

काठमाडौँ, असोज १३ गते ।  बिहीबार रातिदेखि परेको अविरल घनघोर वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागको जनजीवन अस्तव्यस्त भएको छ । पछिल्लो २४ घण्टामा मात्र बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता छन्  ।  देशका विभिन्न भागबाट दुई हजार ८६० जनाको उद्धार गरिएको छ । 

सबैभन्दा बढी जनधनको क्षति काठमाडौँ उपत्यकामा भएको छ । यहाँ ३४ जनाको मृत्यु र २१ जना बेपत्ता भएको जानकारी उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख किरण वज्राचार्यले दिनुभयो । बाढी र डुबानमा फसेका एक हजार ४५७ जनाको उद्धार गरिएको छ । 

त्रिभुवन राजमार्ग अन्तर्गत चन्द्रागिरि नगरपालिका–२ र धादिङको सिमानामा पर्ने नौबिसे सडकखण्डको झ्याप्ले खोलामा गएको पहिरोमा तीन वटा बसका १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार आठ पुरुष, पाँच जना महिला र एक बालक रहेका छन् । 

पहिरोमा एउटा हायस र अर्को भारतीय नम्बरको मालबाहक ट्रकलाई पनि पुरिएको अवस्थामा फेला पारिएको छ । यसै गरी सबैभन्दा बढी वर्षा मापन भएको काभ्रेपलाञ्चोकमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार बालबालिकासहित १० जनाको सनाखत हुन बाँकी छ । मकवानपुरमा सात जनाको मृत्यु भएको छ । बागमती–३ स्थित सुक्खा सल्यनीमा पहिरोले भत्किएको घरले थिचिएर फूलमाया थिङको मृत्यु भएको छ  ।  मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३, टेकरस्थित वत्सला माविस्थित एन्फा एकेडेमीमा फुटबल प्रशिक्षणमा रहेका छ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएको छ । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालका अनुसार छ जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिने भएको छ । एन्फाका अनुसार दिवस बानियाँ, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी र आदिप्य बालमपाकी बेपत्ता भएका थिए । 

दोलखाको भीमेश्वर–६ मा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । चरीकोटस्थित सिमपानीमा गएको पहिरोले राजकुमार भुजेलको घर पुर्दा राजकुमार भुजेल उहाँकी श्रीमती राधिका भुजेल र १५ वर्षीय छोरा सुजन भुजेलको मृत्यु भएको हो  । 

कोशी प्रदेशमा दस जनाको मृत्यु भएको छ भने थप नौ जना बेपत्ता छन् । पाँचथरमा मात्र पाँच जनाको मृत्यु र पाँच जना बेपत्ता छन् । धनकुटामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । यस्तै धादिङमा एक र सिन्धुपाल्चोकमा चार जनाको मृत्यु र पाँच जना बेपत्ता छन् ।  

सोलुखुम्बुमा दुईको मृत्यु भएको छ, सुनसरीमा एक जनाको मृत्यु र नौ जना बेपत्ता छन् । चितवनमा तीन जना र रुपन्देहीमा दुई जना बेपत्ता छन् ।

हालसम्मकै भीषण वर्षा

राजधानीमा हालसम्मकै भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा हालसम्मकै बढी (२३९.७ मिलिमिटर) वर्षा मापन भएको छ । यसअघि विसं २०५९ साउनमा १७७ मिलिमिटर वर्षा मापन भएको थियो । 

पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकको खोपासी र पनौतीमा २८१.८ मिलिमिटर वर्षा मापन भएको झाले जानकारी दिनुभयो । यसै गरी बागमती प्रदेशपछि सबैभन्दा बढी लुम्बिनी प्रदेशको पाल्पाको अर्चलेमा २४४.२ मिलिमिटर वर्षा मापन भएको छ । त्यसै गरी गण्डकी प्रदेशको तनहुँ विमलनगरमा २१०.२, कोशी प्रदेशको धनकुटामा २०९, मधेश प्रदेशको बारा कोल्बीमा २०२, कर्णालीको सुर्खेतमा ४९.५ र   कैलालीमा ४२ मिलिमिटर वर्षा मापन भएको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार बाढीपहिरोबाट काठमाडौँमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा पाँच जना गरी जम्मा ३२ जनाको मृत्यु छ । 

त्यसै गरी काठमाडौँमा १० जना, ललितपुरमा पाँच जना र भक्तपुरमा दुई जना गरी १७ जना घाइते छन् । बाढीमा परी काठमाडौँमा एक जना र ललितपुरमा ११ जना बेपत्ता छन् । बाढीमा फसेकाको उद्धारका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो ।

निरन्तरको वर्षाका कारण प्राकृतिक विपत्बाट प्रभावित काठमाडौँ उपत्यकासहित देशभर सरकारले खोज तथा उद्धारलाई तदारुकता दिँदै नेपाली सेनाको हेलिकोप्टरसहित ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

(केदार तिमल्सिना, राममणि दाहाल, बाबुराम शर्मा र सचिन पोख्रेलको सहयोगमा)