• १० माघ २०८१, बिहिबार

ताप्लेजुङ गोल्डकप भदौ ३ देखि

blog

ताप्लेजुङ, असार २९ गते । यसवर्षको ताप्लेजुङ गोल्डकप–२०८१ आगामी भदौ ३ गतेदेखि आयोजना हुने भएको छ । लाखेजात्राको अवसरमा खेलाइने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप भदौ ३ देखि १० गतेसम्म आयोजना हुने भएको हो ।

लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फुङ्लिङमा सञ्चालन हुने छ । शुक्रबार बसेको समितिको बैठकले गोल्डकप आयोजना गर्ने निर्णय गर्दै प्रतियोगितालाई यसवर्ष विगतमाभन्दा थप व्यवस्थित र विशिष्ट बनाउने गरी तयारीमा लाग्ने निर्णय भएकोसमेत समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

समिति अध्यक्ष गुरुङका अनुसार यस पटकदेखि गोल्डकप प्रतियोगिताको पुरस्कार राशि पनि बढाउने विषयमा छलफल भएको छ । प्रतियोगितालाई विशिष्ट बनाउन नेपालका नाम चलेका ‘ए’ डिभिजन क्लबहरूलाई आमन्त्रण गर्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

यसअघि ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ राशिको नगद पुरस्कार पाउँदै आएका थिए । यस वर्षदेखि पुरस्कार राशि कति वृद्धि गर्ने भन्ने विषयमा समितिको अर्को बैठक बसेर निर्णय गरिने अध्यक्ष गुरुङको भनाइ छ ।


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।