• ६ जेठ २०८१, आइतबार

एक लाख ४१ हजार मनोनयन दर्ता

blog

काठमाडौं, वैशाख १३ गते । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार बिहान १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ३१८ र उपप्रमुख पदमा दुई हजार ३६ जनाको मनोनयन दर्ता भएको छ ।

यस्तै, पालिका अध्यक्षमा तीन हजार ३०६ र उपाध्यक्ष पदमा दुई हजार ३४३ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्ष पदमा ३३ हजार १११, महिला सदस्य पदमा २४ हजार २८३, दलित महिला सदस्य पदमा २१ हजार ९७९ र वडा सदस्य पदमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएको थियो । मङ्गलबार उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ ।

वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।