• १९ असार २०८१, बुधबार

उत्सवकै रूपमा मनोनयन दर्ता

blog

सुदूरपश्चिम ब्युरो 

धनगढी, वैशाख १३ गते  । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ वटै तहमा मनोनयनको दोस्रो दिन सोमबार उत्सव मनाएझैँ सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेलगायतका पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । 

मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारले सोमबार आ–आफ्नो मनोनयन दर्ता गराएका हुन् । कतिपय पालिकामा दलहरूको आपसी विवाद मिलाउन ढिलो भएका कारण साँझ अबेरसम्म उम्मेदवारी दर्ता भइरहेको थियो । सुदूरपश्चिममा साना दल र धेरै स्वतन्त्र उम्मेदवारले आइतबार नै मनोनयन दर्ता गरेका थिए । 

धनगढी समाचारदाताका अनुसार कैलालीका १३ वटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । गौरीगङ्गा नगरपालिकामा सत्तारूढ गठबन्धनबाट प्रमुखमा नेकपा (माओवादी केन्द्र)का देवी कँडेलले प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका भोजबहादुर बमले मनोनयन दर्ता गराउनुभएको छ । 

सोही नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट प्रमुखमा पदम सिङ्गाल र उपप्रमुख शान्ति सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै गोदावरी नगरपालिकामा गठबन्धनबाट नेपाली काँग्रेस वीरेन्द्र भट्टले प्रमुख र एकीकृत समाजवादीका रत्ना कडायतले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ । सो पालिकामा एमालेबाट प्रमुखमा गोकर्ण भट्ट र उपप्रमुखमा शारदादेवी रोकायाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

कैलारी गाउँपालिकामा एमालेबाट अध्यक्षमा झुमा चौधरी र उपाध्यक्षमा जालुराम चौधरीले मनोनयन दर्ता गराउनुभएको छ । यसैबीच लम्कीचुहा नगरपालिकामा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका भक्त थापा र उपप्रमुखमा माओवादी केन्द्रका जानकी सिंहले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै सो पालिकामा एमालेका महादेव बजगार्इं प्रमुख र जुना चौधरी उपप्रमुख, एकीकृत समाजवादीबाट बखत विष्ट प्रमुख र लक्ष्मी देवकोटाले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ । 

टीकापुर समाचारदाताका अनुसार टीकापुर नगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका नवराज रावलसहित पाँचवटा वडाध्यक्षमा उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रले उपप्रमुखमा खड्कबहादुर शाहसहित तीन वडामा वडाध्यक्ष उठाएको छ । एकीकृत समाजवादीले वडा नम्बर १ र २ मा वडाध्यक्ष उठाउन पाएकोे छ । टीकापुरमा २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट प्रमुखका प्रत्यासी ललित थापाले भने यस पटक माओवादी पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार नेकपा एमालेबाट प्रमुखमा श्याम खत्री र उपप्रमुख उपमा केसीसहित नौवटै वडाबाट उम्मेदवारी दर्ता गराइएको छ । नागरिक उन्मुक्ति पार्टीबाट रामलाल डगौरा थारू प्रमुख र उल्कादेवी विश्वकर्मा उपप्रमुखसहित नौवटै वडाबाट उम्मेदवारी परेको छ । 

जानकी गाउँपालिकामा नेकपा (एमाले)बाट अध्यक्षमा टेकबहादुर बम, उपाध्यक्षमा गीता चौधरीसहित नौवटै वडामा उम्मेदवार उठाएको छ । नागरिक उन्मुक्ति पार्टीले अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमति कठरियासहित नौवटै वडामा उम्मेदवारी दिएको छ । 

गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली काँगे्रसका परशुराम महतसहित छ वडाध्यक्ष, माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षमा जयप्रकाश दहितसहित दुई वडाध्यक्ष र एकीकृत समाजवादीले एक वडाध्यक्षमा उम्मेदवारी दिएको छ । सोमबार साँझ अबेरसम्म उम्मेदवारी दर्ताको कार्य भइरहेको जानकीका निर्वाचन अधिकृत विश्वद्वीप बेस्राले जानकारी दिनुभयो ।

जोशीपुरमा एमालेले अध्यक्षमा केशरबहादुर डगौरा र उपाध्यक्षमा रमादेवी भूलसहित सातबटै वडाबाट उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली काँग्रेसबाट बन्सराज बडायक र सातवटै वडामा उम्मेदवारी दिइएको छ । गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले उपाध्यक्षमा दीर्घ विनाडी र दुई वडामा वडाध्यक्षमा उम्मेदवारी दिएको छ । 

भजनी नगरपालिकामा एमालेले हर्कबहादुर बुढा र उपप्रमुखमा तुलसी चौधरीसहित नौवटै वडामा उम्मेदवारी दिएको छ । गठबन्धनका तर्फबाट प्रमुखमा माओवादी केन्द्रका शेरबहादुर चौधरीसहित चार वडामा, नेपालीका काँगे्रसले उपप्रमुख गोकर्ण भण्डारीसहित चार वडा र एकीकृत समाजवादीले एउटा वडामा उम्मेदवारी दिएको छ । नागरिक उन्मुक्ति पार्टीले प्रमुखमा केवल चौधरी र उपप्रमुखमा 

राजु तिरुवासहित नौवटै वडाबाट उम्मेदवारी दर्ता गराएको छ ।

एमाले एक्लै अरूको भागबन्डा 

दार्चुला समाचारदाताका अनुसार दार्चुलामा गठबन्धन आबद्ध दलले भागबन्डाको आधारमा नौवटै पालिकामा उम्मेदवारी दर्ता गरेका छन् भने नेकपा (एमाले)ले जिल्लाभर सबै पदमा एकल रूपमा उम्मेदवारको मनोनयन दर्ता गरेको छ । केही स्थानीय तहमा नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र उम्मेदवारले समेत मनोनयन दर्ता गरेका छन् । 

जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकामा गठबन्धनका तर्फबाट नगरप्रमुखमा काँग्रेसका हंशराज भट्ट र उपप्रमुखमा काँग्रेसकै सुना बोहराले मनोनयन दर्ता गर्नुभएको छ । महाकालीमा एमालेले नगरप्रमुखमा नरसिंह चैसिर, उपप्रमुखमा दुर्गा विष्टलाई उम्मेदवारी परेको छ ।  

शैल्यशिखर नगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखमा काँग्रेसका अमरसिंह धामी र उपप्रमुखमा काँग्रेसकै राजमती पालको उम्मेदवारी मनोनयन दर्ता भएको छ । सो पालिकामा एमालेबाट नगरप्रमुखमा विजयसिंह धामी, उपप्रमुखमा शान्ति खडायतको मनोनयन दर्ता भएको छ ।

नौगाड गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादीका दलजितसिंह धामी र उपाध्यक्षमा काँग्रेसका जगतसिंह ठगुन्नाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

नौगाडमा एमालेको तर्फबाट अध्यक्षमा प्रेमसिंह धामी र उपाध्यक्षमा गौरीदेवी ठगुन्नाले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।

लेकम गाउँपालिका गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादीका रामदत्त जोशी र उपाध्यक्षमा काँग्रेसका सुना जोशीले मनोनयन दर्ता गर्नुभएको छ । सो पालिकामा एमालेबाट अध्यक्षमा परमानन्द जोशी, उपाध्यक्षमा माधवी जोशीले उम्मेदवारी दर्ता गराउनुभयो ।

मालिकार्जुन गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा काँग्रेसका नरेन्द्रसिंह धामी र उपाध्यक्षमा माओवादी केन्द्रका कल्यानसिंह धामीले मनोनयन दर्ता गर्नुभएको छ । 

एमालेबाट अध्यक्षमा हीरासिंह धामी, उपाध्यक्षमा गोमती भट्टले मनोनयन गर्नुभयो । व्यास गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा काँग्रेसका दिलीपसिंह बुढाथोकी, उपाध्यक्षमा माओवादीका विनोदसिंह कुँवरले र एमालेको तर्फबाट अध्यक्षमा मङ्गलसिंह धामी, उपाध्यक्षमा चन्द्रादेवी कुँवरले मनोनयन दर्ता गर्नुभएको छ  । 

यस्तै दुहुँ गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा काँग्रेसका पुलेन्द्रबहादुर कार्की, उपाध्यक्षमा शान्ति बमले र एमालेबाट अध्यक्षमा नरेन्द्रबहादुर सिंह बडाल, उपाध्यक्षमा ताराकेशरी कुँवरले मनोनयन दर्ता गर्नुभएको छ । 

मार्मा गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादीका जमनसिंह धामी, उपाध्यक्षमा काँग्रेसका उमेश सिंह र एमालेबाट अध्यक्षमा देवसिंह महर, उपाध्यक्षमा राजु धामीले मनोनयन दर्ता गराउनुभएको छ । 

अपिहिमाल गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा भगतसिंह ठेकरे र उपाध्यक्षमा काँग्रेसका देवकी बोहरा तथा एमालेबाट अध्यक्षमा धर्मानन्द मन्याल, उपाध्यक्षमा उर्मिला बोहराले मनोनयन दर्ता गर्नुभएको छ ।  

एमाले र काँग्रेस (बीपी) गठबन्धन

डडेल्धुरा समाचारदाताका अनुसार डडेल्धुरा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा जनप्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरिएको छ । अमरगढी नगरपालिकाको प्रमुखका लागि काँग्रेसबाट डिल्लीराज जोशीले र उपप्रमुखमा पार्वती झुकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

सो पालिकामा एमाले र नेपाली काँग्रेस बीपी गठबन्धनबाट प्रमुखमा काँग्रेस (बीपी)का हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद उपाध्याय पङ्गेनीले बताउनुभयो । 

यसैगरी माओवादीबाट प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा शशी अवस्थी, नेकपा (एकीकृत समाजवादी) बाट प्रमुखमा सङ्गीता भण्डारी र उपप्रमुखमा भुवन पाठक, राप्रपाबाट गोविन्द खडायत प्रमुखमा र उपप्रमुखमा कविता जोशीले मनोनयन दर्ता गराउनुभएको छ । 

डडेल्धुराको परशुराम नगरपालिकाको नगरप्रमुख पदका लागि नेपाली काँग्रेसबाट भरत जोशी, उपप्रमुखमा कलावती बोहरा, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महता, नेकपा एमालेबाट प्रमुख केशव बोहरा र उपप्रमुख गौमती पन्तले मनोनयन दर्ता गराउनुभएको छ । 

यसैगरी अजयमेरु गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा टेकराज पाण्डेय, उपाध्यक्ष वसन्ती पाल, एमालेबाट अध्यक्षमा पदम पाल, उपाध्यक्षमा नेपाली काँग्रेस (बीपी)बाट रामचन्द्र ऐर, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उमेश भट्ट, उपाध्यक्ष कलावती भाडले मनोनयन गर्नुभएको छ । 

नवदुर्गा गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष लक्ष्मी अवस्थी, उपाध्यक्ष निर्मला विष्ट, नेपाली काँग्रेस (बीपी) बाट अध्यक्ष गोकुल शाही, उपाध्यक्षमा एमालेबाट वीरबहादुर विष्ट, एकीकृत समाजवादीबाट अध्यक्ष कविन्द्रबहादुर विष्ट, उपाध्यक्ष चन्द्रा रूपाली, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष धर्म विक, विस्ना बोहरा, आलिताल गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा बलबहादुर गुरुङ, उपाध्यक्ष जला वोगटी, नेकपा एमालेबाट अध्यक्ष मीन बोगटी, उपाध्यक्ष शान्ति भट्ट जोशी, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा शेर पार्की, उपाध्यक्ष मन्जु रावल, एकीकृत समाजवादीबाट अध्यक्षमा तुलाराम बोहरा उपाध्यक्ष लक्ष्मी धामी, स्वतन्त्रबाट टेक खड्काले मनोनयन दर्ता गर्नुभएको छ । 

गन्यापधुरा गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा इन्द्र कार्की, उपाध्यक्ष ज्ञानु सेटी, एकीकृत समाजवादी अध्यक्षमा नरबहादुर विष्ट, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्ल, नेपाली काँग्रेस (बीपी)बाट अध्यक्षमा सुरेन्द्र माली, नेकपा एमालेबाट उपाध्यक्षमा इन्द्र महराले मनोनयन दर्ता गराउनुभएको छ । 

यसैगरी भागेश्वर गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा हेमराज चटौत, उपाध्यक्ष पुष्पा ठकुराठी, नेकपा एमालेबाट रामबहादुर शाही, उपाध्यक्ष नेपाली काँग्रेस (बीपी)बाट नरबहादुर ठकुराठी, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा विष्णु पाण्डेय, उपाध्यक्षमा गीता भट्ट र स्वतन्त्रबाट विष्णुबहादुर ठकुराठीले मनोनयन दर्ता गर्नुभएको छ । 

बैतडी समाचारदाताका अनुसार स्थानीय तहको निर्वाचनका लागि प्रमुख÷उपप्रमुख पदसहित वडाध्यक्षका लागि उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बैतडीका १० स्थानीय तहको केन्द्रमा स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दलहरूले उम्मेदवारको मनोनयन दर्ता गरेका हुन् । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तहमा ८४ वडा छन् । 

सत्ता साझेदार दलबाट एमालेले यसअघि चुनाव जितेका डिलासैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र एमालेको बहुमत वडा सदस्य जितेको पाटन नगरपालिकामा गठबन्धन गरेर उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । 

गठबन्धनबाट पञ्चेश्वर गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका रमेशसिंह भण्डारी र एकीकृत समाजवादीबाट राजेन्द्र चन्दले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको छ । पञ्चेश्वरमा एमालेबाट मनोनयन दर्ता गराउनुभएका गोरखबहादुर चन्द र बिना भट्टसँग गठबन्धन दलको प्रतिस्पर्धा हुनेछ । 

दोगडाकेदार गाउँपालिकामा काँग्रेसका देवराज जोशी र माओवादी केन्द्रका नवराज भट्टले उपाध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ । दोगडाकेदारमा एमालेबाट मनोनयन दर्ता गराउनुभएका चक्रबहादुर कार्की र पार्वती कार्कीसँग गठबन्धनको प्रतिस्पर्धा हुनेछ ।  

सुर्नया गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्ट र माओवादी केन्द्रका दिलाराम भट्टले संयुक्त रूपमा उपाध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ । 

यहाँ एक्लै चुनावमा होमिएको काँग्रेसका गजेन्द्रबहादुर चन्द र मञ्जु बोहरा, एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा राप्रपा (थापा समूहका) देवबहादुर चन्दले गठबन्धन गरेर मनोनयन दर्ता गर्नुभएको छ । 

त्यसैगरी गठबन्धनबाट पाटन नगरपालिका प्रमुखमा काँग्रेसका गौरीसिंह रावल र उपप्रमुखमा माओवादी केन्द्रका कमल बोहराले संयुक्त रूपमा मनोनयन दर्ता गराउनुभएको छ । पाटन नगरपालिकामा एमालेका नारायण भण्डारी र हरिना भट्टसँग गठबन्धनको प्रतिस्पर्धा हुनेछ । 

डिलासैनी गाउँपालिकामा माओवादी केन्द्रका लोकेन्द्र राना शीतल र उपाध्यक्षमा काँग्रेसका भरत बोहराले गठबन्धनबाट मनोनयन दर्ता गराउनुभएको छ । यहाँ एमालेका अक्कल राना र एमालेबाटै स्वतन्त्र उम्मेदवार युवा नेता सन्तोष जोशीसँग प्रतिस्पर्धा हुनेछ । 

गठबन्धन हुन नसकेका दशरथचन्द नगरपालिकामा काँग्रेसबाट गजेन्द्रसिंह रावल र कौशिला चन्द, एमालेबाट पुष्करराज जोशी र सरस्वती नेपालीले मनोनयन दर्ता गराउनुभएको छ । यहाँ माओवादी केन्द्रका प्रेमसिंह थापा प्रमखु र नेकपा एकीकृत समाजवादीका राजुराम भुलले उपप्रमुखमा गठबन्धन गरेर मनोनयन दर्ता गराउनुभएको छ । 

मेलौली नागरपालिकामा काँग्रेसका प्रेम चन्द र पार्वती विष्ट, एमालेका जगदीशसिंह नायक र चन्द्रकला साउद, पुर्चौंडी नगरपालिकामा काँग्रेसका दीपकबहादुर, मिना धानुक, माओवादी केन्द्रका विक्रम कुँवर, नन्दाकुमारी शाह र एमालेका कर्णबहादुर कुँवर जानकी साउदले प्रमुख/उपप्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । 

त्यसैगरी सिगास गाउँपालिकामा काँग्रेसका हरिसिंह धामी र सुमित्रा ऐर, एकीकृत समाजवादीका कृष्णसिंह साउद र भृकुटी चन्द, एमालेबाट जस्विरसिंह बोहरा र धाना धामी, माओवादी केन्द्रमा जस्वीर साउद रोशन र लक्ष्मी चन्दले प्रमुख उपप्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ ।  

शिवनाथ गाउँपालिकामा नेकपा एमालेबाट हजारी साउद र शकुन्तला साउद, काँग्रेसबाट कर्ण साउद अध्यक्ष र माओवादीका नरेन्द्रसिंह साउदले उपाध्यक्ष पदमा गठबन्धन गरेर एमालेसँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गर्नुभएको छ । 

तस्बिर : गोकर्ण दयाल बैतडीको पाटनमा मनोनयन दर्ता गरेपछि गठबन्धन दलका उम्मेदवार ।