• ७ वैशाख २०८३, सोमबार

आत्मनिर्भर लघुवित्तले १४ दशमलब २५ बोनस सेयर वितरण गर्ने

blog

साधारण सभामा सम्बोधन गर्नुहुँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरी । तस्बिर: सन्तोष दहित

सन्तोष दहित

दाङ, वैशाख ७ गते । १५ प्रतिशत लाभांश घोषणा गरेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही दाङले १४ दशमलव २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

घोराहीमा आयोजित संस्थाको सातौँ वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष मीरा चौधरीले उक्त जानकारी दिनुभएको हो ।

उहाँका अनुसार नगद लाभांश कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश (मुनाफा) वितरण गरिने छ । 

यस्तै संस्थाले हालसम्म ६० हजार विभिन्न परिवारलाई वित्तीय कारोबारमा आबद्ध गराउँदै घरदैलोमै बचत परिचालन, कर्जा प्रवाह तथा अन्य सेवा सुविधा प्रदान गर्दै आएको जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०८१ र ८२ को प्रतिवेदन अनुसार संस्थाले १२ हजार २४६ ऋणीलाई आयआर्जनमुखि विभिन्न परियोजनामा कर्जा प्रवाह गरेको छ । 

कुल कर्जा लगानी एक अर्ब ५५ करोड ३४ लाख १० हजार ९४८ रुपियाँ पुगेको छ भने सदस्यहरूबाट ९८ करोड ९७ लाख १८९ रुपियाँ बचत सङ्कलन भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

संस्थाले बिमा कम्पनीसँग सहकार्य गर्दै सदस्य तथा सदस्यका श्रीमान्‌को मृत्यु हुँदा कर्जाको भार न्यूनीकरणका लागि बिमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ ।

गत आर्थिक वर्षमा ऋणी सदस्य मृत्यु भएका ३४ जना र श्रीमान्‌को मृत्यु भएका ५७ जना गरी ९१ जनालाई कुल ६८ लाख ३० हजार ५२० रुपियाँ क्षतिपूर्ति प्रदान गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

यस्तै, सो अवधिमा संस्थाले सरकारलाई संस्थागत आयकरतर्फ  तीन करोड ७६ लाख ६५ हजार ८ सय १८, बचत तथा निक्षेपकर्ताको ब्याजदरतर्फ ३९ लाख ९८ हजार ८०६ र कर्मचारी पारिश्रमिक आयकरतर्फ १२ लाख ३१ हजार ७४२ रुपियाँ गरी कुल  चार करोड २८ लाख ९६ हजार ३६६ रुपियाँ राजस्व बुझाएको जनाएको छ ।

संस्थाले सदस्यहरूको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै वित्तीय अनुशासन, कर्जा तथा लगानी व्यवस्थापन, बचत परिचालन, पारिवारिक बजेट योजना, उद्यमशीलता विकास र ब्याजदरसम्बन्धी जानकारी दिन वित्तीय तथा व्यावसायिक साक्षरता अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरीले अन्य वित्तीय संस्था घाटामा गइरहेको अवस्थामा पनि आफ्नो संस्था नाफामा सञ्चालन भइरहेको बताउनुभयो । 

छ करोड रुपियाँ शेयर पूँजीबाट सुरु भएको संस्थाको चुक्ता पूँजी आर्थिक वर्ष २०८१र८२ मा बढेर ७ करोड ८३ लाख ४३ हजार २ सय रुपियाँ पुगेको जानकारी उहाँले दिनुभयो  ।