काठमाडौँ, वैशाख ७ गते । प्रधानमन्त्री वालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्नुभएको छ ।
सोमबार सिंहदरबारमा उपकुलपतिहरूसँग छलफल गर्नुभएको हो ।प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिलाई यस छलफलमा बोलाइएको थियो ।
समस्या र समाधानका उपायबारे विमर्श भएको छ । यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल भएको बताइएको छ । बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपति सहभागी हुनुभएको थियो ।
त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित हुनुभएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी हुनुभएको थियो । साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिसँग पनि प्रधानमन्त्री साहले संवाद गर्नुभएको छ ।
उहाँले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग पनि छलफल गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग पनि प्रधानमन्त्री साहले छलफल गर्नुभएको छ ।