जनार्जन खत्री
सर्लाही, वैशाख ७ गते । सर्लाहीको कौडेनामा सोमबार गाउँपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री वितरण गरिएको छ । बेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित रेन कार्यक्रम (उत्थानशीलता, अनुकुलन र समावेशी नेपाल)ले पालिका र सुरक्षा निकायलाई विपद्, पूर्व सूचना र उद्धारमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको सो कार्यक्रमकी आस्था प्रधानाङ्गले जानकारी दिनुभयो ।
गाउँपालिकाको तर्फबाट अध्यक्ष रुपेशकुमार र प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दास, सशस्त्र प्रहरीको तर्फबाट सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक अम्मरबहादुर खत्री र नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीले विपद् व्यवस्थापन सामग्री ग्रहण गर्नुभएको छ ।
रेन कार्यक्रमले कौडेना गाउँपालिकालाई कम्प्युटर, प्रिन्टर, टेलिभिजन, टेलिफोन लगायत दुई लाख ८६ हजार ५० रुपियाँ बराबरको सामग्री प्रदान गरेको छ । त्यस्तै, सशस्त्र प्रहरीलाई एक थान रबर बोटसहित प्याडल, हेल्मेट, लाइफ ज्याकेट, थ्रो ब्याग, पम्प र मेगा फोन गरेर आठ लाख ३५ हजार ५९ रुपियाँ बराबरको विपद् व्यवस्थापन सामग्री प्रदान गरिएको छ ।
त्यसैगरी नेपाल प्रहरीलाई हेल्मेट, लाइफ ज्याकेट, थ्रो ब्याग र मेगा फोन गरी एक लाख ९० हजार ३७७ रुपियाँ बराबरको सामग्री हस्तान्तरण गरिएको रेन कार्यक्रमले जनाएको छ । सो कार्यक्रम अन्तर्गत मधेश प्रदेशमा विद्यमान प्रकोपहरूमा बाढी, खडेरी, तातो हावा, शीतलहर र आगलागनीको जोखिम न्यूनीकरण, प्रतिकार्य र पूर्वकार्य क्षमता अभिवृद्धि, मौसम पूर्वानुमानको आधारमा अग्रिम कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेको रेन कार्यक्रमको पूर्व सूचना प्रणाली र पूर्वकार्य संयोजक दीपेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
ठाकुरका अनुसार सोही कार्यक्रम अन्तर्गत कोडैना गाउँपालिकामार्फत विपद् उद्धार सामग्री र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना तथा सञ्चालनका लागि सामग्री हस्तान्तरण गरिएको हो ।