• ७ वैशाख २०८३, सोमबार

रास्वपा केन्द्रीय समितिको बैठक, साङ्गठनिक प्रस्तावमाथि छलफल हुँदै

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेलगायत । तस्बिर : रास्वपाको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ । 

पार्टीका प्रवक्ता मनिष झाका अनुसार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक केही बेरअघि सुरु भएको हो । बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसिरहेको छ ।

आजको बैठकमा विशेषगरी प्रतिनिधिसभा सदस्यहरूको सङ्गठनात्मक जिम्मेवारी बाँडफाँट, संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता तथा सांसदहरूले बुझाउनुपर्ने ‘लेवी’ लगायतका साङ्गठनिक विषयमा केन्द्रित रहेर छलफल हुने कार्यसूची रहेको छ ।

बैठकले सचिवालयले तयार पारेर प्रस्ताव गरेका विभिन्न बुँदाहरूमाथि विस्तृत छलफल गरी त्यसलाई अनुमोदन गर्ने लक्ष्य राखेको छ ।


यसअघि आइतबार बसेको सचिवालय बैठकले आजको केन्द्रीय समितिका लागि विभिन्न एजेन्डाहरू तय गरेको थियो । जसमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोगको गठन, सल्लाहकार परिषद्को व्यवस्थापन, सङ्घीय नेतृत्व मञ्च र विभिन्न विभागहरूको मनोनयन लगायतका विषय समेटिएका छन् । साथै पार्टीको आगामी महाधिवेशनका लागि कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयमा पनि आजको बैठकमा महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।