• १२ पुस २०८१, शुक्रबार

गठबन्धनमा सहमति जुट्यो, ८० प्रतिशत प्रमुख कांग्रेसलाई

blog

गठबन्धन सम्बन्धी पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेताहरु । तस्विरः ध्यान कुलुङ

ध्यान कुलुङ

सङ्खुवासभा, बैशाख ११ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने भनेका तीन दलले गठबन्धनका लागि सहमति जुटाएका छन् । भाग बण्डा नमिलेको भन्दै विज्ञप्ति नै निकालेर गठबन्धनको सम्भावना टरेको बताएको दलहरुले अन्ततः सहमति जुटेको विज्ञप्ती मार्फत जानकारी गराएका छन् । 

जिल्लाको दश स्थानीय तह मध्ये सात वटा स्थानीय तहमा गठबन्धन गर्ने बाँकी तीन स्थानीय तहमा मैत्रिपुर्ण प्रतिष्पर्धा गर्ने सहमति गरेका हुन् । सात स्थानीय तह मध्ये पाँच स्थानमा नेपाली कांग्रेस र बाँकी दुई स्थानीय तहमा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी प्रमुख पदमा उमेद्वार बनाउने सहमति भएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । 

जिल्लाको मादी नगरपालिका नेकपा (माओवादी केन्द्र) र भोटखोला गाउँपालिका नेकपा (एकिकृत समाजवादी) लाई प्रमुख पद दिएर बाँकी पाँच स्थानमा नेपाली कांग्रेस निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकामा नेपाली कांग्रेस प्रमुख पदमा प्रतिष्पर्धा गर्ने भएका छन् । चैनपुर र खाँदबारी नगरपालिकामा माओवादी केन्द्रलाई उपप्रमुख पद दिईएको छ भने सभापोखरी गाउँपालिकामा एकिकृत समाजवादीलाई उक्त पद दिईएको छ । 

जिल्लाको मकालु गाउँपालिका, चिचिला गाउँपालिका र सिलिचोङ गाउँपालिकामा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने सहमति जुटेको नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खङ्काले जानकारी दिनुभयो । उक्त स्थानीय तहहरुमा एक्लाएक्लै चुनाव लड्ने सहमति भएको सभापति खड्काले जानकारी दिनुभयो । उक्त पालिकाहरुमा गठबन्धन बाहेकका अन्य दलसँग तालमेल नगर्ने सहमति भएको समेत उहाँले जानकारी दिनुभयो । 

सङ्खुवासभामा रहेको ७६ वटा वडा मध्ये ६० वटा वडामा गठबन्धन गर्ने सहमति भएको हो ।  त्यस मध्ये ४६ वटा कांग्रेस, छ वटा माओबादी केन्द्र, पाँच वटा एकिकृत समाजवादी र तीन वटा जनता समाजबादीको भागमा परेको छ ।

पाँच नगरपालिका र पाँच गाउँपालिका गरि दश स्थानीय तह रहेको सङ्खुवासभामा अघिल्लो स्थानीय तहको चुनावमा पाँच स्थानमा नेपाली कांग्रेस र पाँच स्थानमा नेकपा एमालेले प्रमुख पद जितेका थिए । यस पटक सङ्खुवासभामा कुनै दलसँग गठबन्धन नगरी नेकपा एमाले चुनाव लड्ने भएका छन् । नेकपा एमालेले यस अघि नै दश वटै स्थानीय तहको उमेद्वार घोषणा गरिसकेका छन् ।