• १० माघ २०८१, बिहिबार

३० मेगावाटको न्यादी जलविद्युतबाट उत्पादन सुरु

blog

लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको विद्युतगृह । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, बैशाख ११ गते । लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माण गरिएको न्यादी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । 

मस्र्याङदी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुलेबीच भएर बग्ने ङादीखोलामा निर्माण भएको ३० मेगावाटको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको जनाएको छ । आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाका अनुसार आयोजनाको निर्माण कार्य सकेर शुक्रबार बेलुकाबाट विद्युत उत्पादन थालिएको हो । सुख्खा मौसमका कारण हाल २० मेगावाट विद्युत उत्पादन भइरहेको गड्तौलाले बताउनुभयो । 

बैशाख २७ गतेबाट व्यवसायीक विद्युत उत्पादन हुने उहाँले बताउनुभयो । आयोजना आफैंले १० किलोमिटरको १३२ केभी विद्युत प्रसारण लाइन निर्माण गरेको छ । पावरहाउस रहेको ठुलीबेंसीबाट मस्र्याङदी नदीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजना क्षेत्रसम्म २५ वटा टावर राखिएको छ । सुरुवातमा २०२१ को जुलाईमा आयोजना सम्पन्न गराउने लक्ष्य रहेपनि त्यसपछि तीन महिना सरेको थियो ।

आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेशन कम्पनी लिमिटेडले निर्माण गरेको हो । वुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनी (लेड्को) को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । करीब ४ अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन भएपनि आयोजना निर्माण सक्दासम्म लागत बढेको आयोजनाले जनाएको छ । 

आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोवल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीको लगानी रहेको छ । वि.स. २०७३ चैत ३० गतेबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ । ३ हजार ८ सय ४० मिटर सुरुङबाट पानी ल्याएर आयोजना बनाइएको छ ।  नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत उत्पादन हुने छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा ४ रुपियाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपियाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको हो ।