रङ्गेली समाचारदाता
विराटनगर, वैशाख ७ गते । मोरङमा सीमाक्षेत्रका नागरिकले छोटी भन्सार पुनस्र्थापना गर्नुपर्ने माग गरेका छन् । सीमाक्षेत्रको अवस्था बुझ्न स्थानीय प्रशासनले गरिरहेको अनुगमनमा नागरिकले छोटी भन्सार नहुँदा सानो व्यापार चलाउन मुस्किल परेको बताएका हुन् ।
व्यापार सहजीकरणका लागि मुख्य भन्सार विन्दु प्रयोग गर्ने नीति अनुसार छोटी भन्सार क्रमशः बन्द हुँदै गएका छन् तर मुख्य भन्सारसँगको पहुँच सहज नहुँदा छोटी भन्सारबाट सामान भित्र्याएर व्यापार गर्दै आएका मोरङका पूर्व–दक्षिणतर्फका स्थानीय तहका नागरिकलाई असहज भएको गुनासो गरेका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले छोटी भन्सार हटेपछि राज्यको उपस्थिति कमजोर भएको गुनासो नागरिकले गरेको बताउनुभयो । उहाँका अनुसार मोरङमा ६३ किलोमिटर खुला सीमाक्षेत्रका सबै नागरिक मुख्य भन्सार विन्दुसँग नजिक नरहेकाले गुनासो आउनु स्वाभाविक छ तर स्थानीय सरकारको सहज पहुँचमा भएका नागरिकले राज्यको पहुँच नभएको गुनासो गर्नु व्यापार गर्न असहज भएकाले हुन सक्ने उहाँको भनाइ छ ।
विराटनगरदेखि पूर्व–दक्षिण पर्ने जहदा, धनपालथान, कटहरी गाउँपालिका र रङ्गेली, सुनबर्सी तथा रतुवामाई नगरपालिका छन् । सानो व्यापार गर्न ठुलो परिमाणमा सामान भित्र्याउन नसक्ने, दैनिक उपभोगका सामग्री ल्याउनसमेत सीमा कडाइपछि समस्या परेको सीमाक्षेत्रका नागरिकमा चिन्ता बढेको हो ।
मोरङका नौ वटामध्ये हाल एउटा मात्रै छोटी भन्सार सञ्चालनमा छ । त्यो धनपालथान गाउँपालिका–२ को मायागन्ज छोटी भन्सार हो । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार छोटी भन्सार राजस्व वृद्धि गर्नेभन्दा खर्च बढाउने कार्यालय भएकाले बन्द भएकाले अब सञ्चालनमा आउने सम्भावना न्यून छ ।
स्थानीय व्यापारका लागि सहजीकरण गर्ने भनिए पनि भारततर्फ छोटी भन्सारका लागि आवश्यक पर्ने उस्तै प्रकृतिका संरचना नहुँदा त्यसलाई कार्यान्वयन गर्न नसकिने स्थितिमा पुगिएको उहाँको भनाइ छ । नेपालतर्फ मात्रै सञ्चालित छोटी भन्सारको राजस्व न्यून छ, सङ्कलन भएको राजस्वभन्दा प्रशासनिक खर्च बढी हुने गरेको छ ।
धनपालथान–२ को मायागन्जबाहेक रङ्गेली र सुनबर्सीको डाइनिया छोटी भन्सार तीन वर्षअघिसम्म सञ्चालनमा थियो । जहदा गाउँपालिकाको मधुमल्ला, धनपालथान गाउँपालिका मझारेको तरिगामा, रतुवामाई नगरपालिकास्थित बरडङ्गाको चुनिबारी, चौकीघाट छोटी भन्सार २०५३ सालदेखि बन्द छन् । प्रतिव्यक्ति वा फर्मले १५ हजार रुपियाँसम्मको सामान ल्याउँदा छोटी भन्सारले राजस्व सङ्कलन गर्दछ ।
त्यसभन्दा माथिको सामान ल्याउँदा मुख्य भन्सार कार्यालयबाट जाँचपास गर्नुपर्ने हुन्छ । भन्सार प्रमुख श्रेष्ठका अनुसार भन्सार प्रणाली नै अनलाइनमा रूपान्तरण भइसकेकाले यी सबै संरचना तयार पारेर छोटी भन्सार व्यवस्थापनको सम्भावना छैन, भए पनि भारततर्फ यसका लागि उस्तै प्रकारको संरचना छैन ।