• ७ वैशाख २०८३, सोमबार

अन्नपूर्ण क्षेत्रका हिमालमा आरोहण,सगरमाथा क्षेत्रको बाटै खुलेन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ७ गते । अन्नपूर्ण, धवलागिरि, अमादब्लमलगायतका हिमालमा वसन्तकालीन आरोहण सुरु भए पनि सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणको बाटो खुल्न विलम्ब भएको छ । 

समान्यतया सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणका लागि अघिल्ला वर्षमा अप्रिलको अन्त्यसम्म चौथो आधार शिविरसम्म बाटो बनाउने (डोरी टाँग्ने, भ¥याङ राख्ने) काम सम्पन्न हुने गरेको भए पनि यस वर्ष सगरमाथा आधार शिविरदेखि पहिलो आधार शिविर पुग्ने बाटोमा पर्ने खुम्बु क्षेत्र (रकफल एरिया) मा हिउँको ठुलो थुप्रोले बाधा पु¥याएपछि पछिल्लो दुई सातादेखि बाटो खोल्ने प्रयास अघि बढ्न सकेको छैन । सगरमाथा, ल्होत्से र नुप्त्से चढ्न दोस्रो आधार शिविरसम्म एउटै बाटो प्रयोग हुने गरेको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) बाट बाटो बनाउन (रोप फिक्सिङ) गर्न खटिएको अनुभवी शेर्पा (आइसफल डाक्टर) को टोलीलाई आधार शिविरदेखि पहिलो आधार शिविर (बेसक्याम्पदेखि क्याम्प वानसम्म) को बिचमा पर्ने खुम्बु आइसफल क्षेत्रको बाङ्गोटिङ्गो, उबडखाबड र पाइला पाइलामा हिउँको थुप्रो भएको क्षेत्रमा सुरक्षित रूपमा बाटो तयार गर्न समस्या भएपछि चुचुरोतर्फ लाग्नुअघिको पूर्वतयारी (आरोहीले बेसक्याम्पदेखि क्याम्प वानसम्म गर्ने ओहोरदोहोर) सुरु हुन सकेको छैन ।

एसपिसीसीका अध्यक्ष लामा काजी शेर्पाका अनुसार सामान्यतः बाटो तयार भएपछि सामान्य मौसममा बेसक्याम्पबाट क्याम्प वान पुग्न तीनदेखि पाँच घण्टा लाग्ने गरेको छ ।

दुरीका हिसाबले झन्डै चार किलोमिटर क्षेत्र अन्तर्गतको क्याम्प वान पुग्नुभन्दा केहीअघिको क्षेत्रमा अवरोधका जारी रहेकाले पहिलो आधार शिविरसम्मको बाटो अघि बढाउने प्रयास जारी छ ।

उहाँले भन्नुभयो, “पाइलैपिच्छे खतरनाक हिउँको थुप्रो भेटिने खुम्बु आइसफल क्षेत्रमा डोरी टाँगेर, आल्मुनियमका भ¥याङ र दुवैतर्फ डोरी फिक्स गरेर बाटो बनाउन समान्य अवस्थामा पनि समय लाग्ने गरेको छ तर यस वर्ष क्याम्प वान पुग्नै लागेको ठाउँमा पग्लिँदै गएको ठुलो हिउँको थुप्रो (खर्पस) ले अवरोध पु¥याएपछि रोप फिक्सिङ टिम अघि बढ्न सकेको छैन ।” मेको पहिलो सातासम्म सगरमाथा र ल्होत्सेको चुचुरोसम्म बाटो तयार गर्ने लक्ष्य हुने गरे पनि एसपिसिसीले दोस्रो आधार शिविरसम्मको बाटो तयार गरेपछि त्यसभन्दा माथि बाटो खोल्न पर्वतारोहण सञ्चालक सङ्घ अन्तर्गतको टोली परिचालन हुने उहाँले जानकारी दिनुभयो । 

पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिएका ३६०, ल्होत्सेका लागि अनुमति लिएका ७१ र नुप्से आरोहणको तयारीमा रहेका २९ आरोही बाटो खुल्ने प्रतीक्षामा रहेका छन् ।

यस याममा सगरमाथा आरोहणमा सबैभन्दा आकर्षण हुने आठ हजार मिटरभन्दा माथि उचाइ भएका अन्नपूर्ण, धवलागिरि, अमादब्लममा भने शनिबारदेखि धमाधम आरोहण सुरु भएको छ ।