• १३ साउन २०८१, आइतबार

अछामका गठबन्धन दल एक्ला एक्लै चुनावी प्रतिस्पर्धा गर्ने

blog

शिवराज ढुंगाना 

अछाम, वैशाख ११ गते । स्थानीय तहको निर्वाचनमा गठबन्धनको कसरतमा रहेका अछामका सत्तारुढ तीन दल एक्लाएक्लै चुनावी प्रतिष्पर्धामा जाने भएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बैशाख ३० गतेको चुनावमा मैत्रीपूर्ण प्रतिष्पर्धामा जाने निर्णय गरेका हुन् ।  

प्रेस वक्तव्य जारी गरेर आफ्ना तल्लो तहलाई तालमेल गर्न बाधा नपुग्ने गरेर चुनावी प्रतिष्पर्धामा जाने निर्णय कार्यदलले गरेको छ । शुक्रबार मिति राखेर शनिबार बेलुकी बाहिर ल्याइएको वक्तव्यमा नेपाली काँग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह, नेकपा माओवादीका केन्द्रिय सदस्य शरदसिंह भण्डारी, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य शंकर भण्डारीद्धारा संयुक्त हस्ताक्षरित प्रेस वक्तव्य रहेको छ । सत्तारुढ दलको जिल्लास्थित कार्यदलमा पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको भन्दै तीनै सत्ता साझेदार दलको मर्यादालाई ख्याल गरिएको उल्लेख छ । 

कार्यदलको छलफलका क्रममा तीनै दलका बीचमा स्थानीय तहको नेतृत्वमा कुरा नमिल्दा गठबन्धन टुटेको विश्लेषण गरिन थालिएको छ । काँग्रेस नेतृत्वलाई नेता कार्यकर्ताको गठबन्धन नगर्न दवाव र माओवादी र समाजवादीले भागबण्डामा बढी स्थानीय तह मागेकोले गठबन्धन भत्केको बताइन्छ । काँग्रेस अछामका स्थानीय तहका नेता÷कार्यकर्ता एक्लै भएपनि निर्वाचन जित्ने भनाइ राखिरहेका हुन्छन् । उता नेकपा (एमाले) भने हालसम्म एक्लै स्थानीय तहको चुनावमा जाने तयारी गरिरहेको छ । अछामका अन्य साना दलहरुपनि स्थानीय तहमा आफ्ना उम्मेद्वारको मनोनयन गर्ने तयारीमा रहेका छन् ।