• ८ असार २०८१, शनिबार

अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित

blog

अनिश्चितकालीन यातायात बन्दका कारण सुनसान बनेको मेची राजमार्ग । तस्बिर ः चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ४ गते । पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । बुधवार र बिहीबार यातायात बन्द आह्वान गरेको सो समूहले बन्दलाई निरन्तरता दिँदै शुक्रवारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेपछि जनजीवन प्रभावित बनेको हो । 

सङ्घर्षरत समूह मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायतले बिहीबार साँझ पुनः विज्ञप्ति जारी गर्दै मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ । यातायात बन्दका कारण यात्रु मारमा परेका छन् । 

मेची राजमार्ग र तमोर कोरिडोर हुँदै सञ्चालन हुने लामो दूरीका सवारी साधन ठप्प हुँदा ताप्लेजुङबाट बाहिरिने र भित्रने यात्रुले यात्रा गर्न पाएका छैनन् । यस्तै ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि ठप्प हुँदा स्थानीय यात्रु मारमा परेका छन् । यातायात बन्दले बिहीबारदेखि सुरु भएको पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवलाई पनि असर पुगेको छ ।

पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण हुने भएपछि सङ्घर्ष समितिहरू सुरुदेखि नै विरोधमा उत्रिएको हो । सङ्घर्षरत समूहले आफ्नो माग विपरीत केबलकार परियोजनाको क्रियाकलाप सुरु गरेकोभन्दै यातायात बन्द आह्वान गर्दै थप आन्दोलित बनेको हो । पवित्र आस्थाको केन्द्र तथा ऐतिहासिक पवित्र धार्मिक स्थल पाथीभरामा केबलकार निर्माण गर्ने नाउमा बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराँससहितका लोपोन्मुख वनस्पतिहरू कटान गर्न थालिएकोभन्दै आफूहरू सशक्त आन्दोलनमा उत्रनुपरेको सङ्घर्षरत पक्षले उल्लेख गरेका छन् । 

केबलकार परियोजना पक्षले सोमबार निर्माण स्थल पाथीभरा क्षेत्रमा रुख कटान गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएको चन्द्र ढकाल नेतृत्वमा रहेको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेको हो ।  

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।