• ८ असार २०८१, शनिबार

मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प

blog

यातायातका साधन नचलेपछि सुनसान बनेको मेची राजमार्ग । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २ गते । पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा यातायात ठप्प भएको छ । सो समूहले आह्वान गरेको दुई दिने बन्दका कारण बुधवार बिहानैदेखि यातायात सेवा ठप्प भएको हो ।

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेको हो । यता आफ्नो माग विपरीत केबलकार परियोजनाको क्रियाकलाप सुरु गरिएकोभन्दै सङ्घर्षरत समूहले मङ्गलबार नै विज्ञप्ति जारी गर्दै मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको हो । 

बन्दका कारण मेची राजमार्ग र तमोर कोरिडोर हुँदै सञ्चालन हुने लामो दूरीका सवारी साधन ठप्प भएका छन् । यस्तै ताप्लेजुङभित्र सञ्चालन हुने स्थानीय यातायात सेवा पनि ठप्प भएको छ । यातायात सेवा ठप्प हुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा जाने यात्रु रोकिएका छन् । त्यस्तै तमोर कोरिडोर हुँदै ताप्लेजुङदेखि पाँचथर, धनकुटा चौबिसे, भेडेटार हुँदै धरान, इटहरीका लागि यात्रा गर्ने यात्रु पनि रोकिएका छन् ।

स्थानीय जनताको माग र भावना विपरीत केबलकार निर्माण गर्ने कार्यअन्तर्गत परियोजनास्थलमा रुख कटान गर्न सुरु गरिएपछि सङ्घर्षरत समूह थप आन्दोलित बनेको हो । केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायत विभिन्न छ वटा समूहले संयुक्त विज्ञप्ति प्रकाशित गरी यातायात बन्दको आह्वान गरेका हुन् । 

पवित्र आस्थाको केन्द्र तथा ऐतिहासिक पवित्र धार्मिक स्थलमा बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराँससहितका लोपोन्मुख वनस्पतिहरू डकैत शैलीमा कटान गर्न थालिएकाले आफूहरू आन्दोलनमा उत्रनुपरेको सङ्घर्षरत पक्षले उल्लेख गरेका छन् । ऐतिहासिक स्थलको वन उजाड बनाउने गरी रुख कटान गर्ने व्यक्तिहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र केबलकार योजना रद्द गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।