• १२ साउन २०८१, शनिबार

एक्सनले भरिपूर्ण ‘केजीएफ च्याप्टर २’

blog

सुकृत नेपाल

काठमाडौँ, वैशाख ९ गते ।  चलचित्र ‘केजीएफ च्याप्टर २’ हेरेपछि सबैको मनमा उठ्ने कुरा एउटै हो । के ‘केजीएफ ३’ पनि बन्छ ? र चलचित्र हेरेपछि बन्छ भन्ने नै दर्शकले निष्कर्ष निकाल्छन् । चलचित्रको क्लाइमेक्समा निर्माताले अर्को अध्यायको सूत्र देखाएका छन् । चलचित्र ठूलो क्यानभासका लागि बुनिएको कथा जस्तै बनेको छ । 

पहिलो जस्तै यस पटक ‘केजीएफ च्याप्टर २’को कथा सुनाउने कोही छैन । चलचित्रको कथा ‘आरआरआर’ जस्तै दिल्लीसम्म पुग्छ । दक्षिणमा बन्ने चलचित्रको कथालाई उत्तरमा ल्याउन मणिरत्नमले चलचित्र ‘रोजा’बाट सुरु गरेको परम्परा अहिले ‘आरआरआर’ र ‘केजीएफ च्याप्टर २’ जस्ता मेगा बजेट चलचित्रमा पनि दर्शकले पाउन सक्छन् । 

चलचित्र त्यहीँबाट सुरु हुन्छ, जहाँबाट अघिल्लो सिक्वेल सकिएको हुन्छ । चलचित्रमा रक्की (यश)ले प्रभुत्व जमाएका छन् । उनी दुःखीहरूका लागि भगवान् हुन् तर उनका शत्रु भने दिन प्रतिदिन बढिरहेका हुन्छन् र रक्की यी सबैलाई आफू पावरमा भएकै समय सक्न चाहन्छन् । चलचित्रमा रक्कीको लडाइँ अधिरा (सञ्जय दत्त)सँग पर्छ, जो एकदमै भयानक हुन्छन् । अघिल्लो चलचित्रमा सरकार र पुलिसको खासै भूमिका देखाइएको थिएन तर यस पटक भने प्रधानमन्त्री रमिका सेन (रविना टण्डन) (जो इन्दिरा गान्धीबाट प्रभावित भएको भूमिकामा देखिएकी छिन्), उनी रक्कीले गरेको कामलाई नष्ट गर्न चाहन्छिन् र रक्की यिनै चुनौतीको सामना गर्न अग्रसर हुन्छिन् । यिनै कुरामा चलचित्र घुमेको छ । चलचित्रको स्क्रिप्ट र निर्देशन यसरी गरिएको छ कि चलचित्रको हरेक दृश्यमा रक्की मात्र छाइरहेको देखिन्छ । जब रक्की आउँछन् पुलिसहरू पनि थरथर काप्न थाल्छन् । रक्कीलाई देखेर उनीहरूको होस हराउँछ । चलचित्रमा रक्की केही समय देखिएनन् भने पनि उनकै कुरा चलिरहेको हुन्छ । आँखामा कालो चस्मा लगाएर, हातमा हथौडा र बन्दुक लिएर एकदमै स्लो मोसनमा उनी यताउता गरिरहन्छन् । 

निर्देशक प्रशान्त नीलले लेखेका चलचित्रको कथामा रक्कीबाहेक अन्य कलाकारलाई खासै प्राथमिकतामा राखेको पाइँदैन । त्यसैले पनि पूरै चलचित्र रक्कीमय बनेको छ । निर्देशकले रक्कीकै लागि मात्र भनेर धेरै नै राम्रा दृश्य रचेका छन् । जसले दर्शकलाई अवश्य नै रोमाञ्चित बनाउँछ । चलचित्र रक्कीको पहिलो पटक अधिरासँगको भेट, अधिराको मान्छेहरूमाथि गोलीबारी, रक्की सीधै प्रधानमन्त्रीको कार्यालयमा छिरेर उनीसँग कुरा गर्ने आँट गर्नु र श्रीनिधि सेट्टीलाई समात्नु र रक्कीले कारलाई पछ्याउनु जस्ता दृश्य झन्डै तीन घण्टा हलमा बाँधिराख्न बाध्य बनाउँछ ।

चलचित्रको सबैभन्दा राम्रो पक्ष भनेको यसको एक्सन नै हो । चलचित्रको सङ्गीतमा खासै दम छैन । चलचित्रमा रक्की (यश) स्टाइलिस देखिएका छन् । श्रीनिधि सेट्टीले खासै आफ्नो कौशलता देखाउन पाएका छैनन् । सञ्जय दत्त गुण्डाको भूमिकामा एकदमै जचेका छन् । उनको बोल्ने र गेटअपको शैलीले उनलाई भयानक देखाएको छ । प्रधानमन्त्रीका रूपमा अभिनेत्री रविना टण्डनले आफ्नो अभिनय क्षमता देखाएकी छिन् । अन्य कलाकार प्रकाश राज, माल्विका अविनश, अचर्ना जाइसले राम्रो अभिनय गरेका छन् । ‘केजीएफ च्याप्टर २’ एउटा विशुद्ध एक्सनमय चलचित्र हो ।