• २६ साउन २०८२, सोमबार

यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार स्थगित

blog

दाहाल यज्ञनिधिको सातौं स्मृति दिवसमा सहभागी दाहाल यज्ञनिधि सुधा सदनका अध्यक्ष सुधा दाहाललगायत कार्यसमिति सदस्य ।

काठमाडौँ, साउन २५ गते। यो वर्षको साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापित ‘दाहाल यज्ञनिधि’ पुरस्कार स्थगित भएको छ। दाहाल यज्ञनिधि सुधा सदनका संरक्षक कृष्णकुमारी दाहालको निधन भएका कारण यस वर्षको पुरस्कार स्थगन गरिएको संस्थाका अध्यक्ष सुधा दाहालले जानकारी दिनुभयो। 

दाहाल यज्ञनिधि प्रतिभा पुरस्कार भने दबार हाइस्कुलमा सङ्क्षिप्त कार्यक्रम गरेर प्रदान गर्ने निर्णय भएको छ। ‘‘यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार संस्थाका संरक्षक कृष्णकुमारी दाहालको निधन भएका कारण स्थगन गरिएको छ’’, अध्यक्ष दाहालले भन्नुभयो, ‘‘दाहाल यज्ञनिधि प्रतिभा पुरस्कार भने दरबार हाईस्कुलमा सङ्क्षिप्त कार्यक्रम गरेर प्रदान गर्ने निर्णय भएको छ।’’

सातौं स्मृति दिवसको अवसरमा संस्थाले दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। काठमाडौंको बुढानिलकण्डमा आयोजित श्रद्धाञ्जली सभामा संस्थाका पदाधिकारी र परिवारका सदस्यको उपस्थिति थियो। 

आइतबार दाहाल यज्ञनिधि सुधा सदनको साधारणसभासमेत सम्पन्न भएको छ। सुधा दाहालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गर्दै साधारणसभा सम्पन्न भएको संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले जानकारी दिनुभयो। 

दाहाल यज्ञनिधि यो पुरस्कारबाट यसअघि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, साहित्यकार निनु चापागाईं र इतिहासकार स्वर्गीय ज्ञानमणि नेपाल पुरस्कृत भइसक्नुभएको छ।

त्यसैगरी दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट  भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)का दुई जना छात्रछात्रा पुरस्कृत हुन्छन्। हरेक वर्ष कक्षा ८ बाट उर्तीण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने छात्रछात्रालाई प्रतिभा पुरस्कार प्रदान गरिन्छ। दाहाल यज्ञनिधिले लामो समय अध्यापन गर्नुभएको दरबार स्कुलमा उहाँको नाममा बाल प्रतिभा पुरस्कार स्थापना भएको हो। 

दाहाल यज्ञनिधिको नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थामा ५१ लाख रूपियाँको अक्षयकोश राखिएको छ। अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई पुरस्कार र बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ।

वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिनुभएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो। उहाँका ‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६),  दाहाल यज्ञनिधिका कविता (२०७८) जस्ता कृति प्रकाशित छन्। दाहालको जीवनी व्यक्तित्व र कृतित्व केन्द्रित जदौ (२०६९) कृति पनि प्रकाशित छ। दाहाल सञ्चारकर्मीसँगै कवि र निबन्धकारका रुपमा परिचित हुनुहुन्छ। दाहालले नेपाली साहित्यिक पत्रकारिताका छापा र प्रशारण माध्यममा पुर्याउनुभएको योगदान उल्लेख्य रहेकाले उहाँको जीवनी व्यक्तित्व र कृतित्व उजागर गर्ने उद्देश्यले परिवार र शुभचिन्तक मिलेर संस्थाको स्थापना भएको हो।