• २६ साउन २०८२, सोमबार

बलराम ज्ञान–विज्ञान पुरस्कार प्रदान

blog

कार्यक्रममा सहभागी अतिथिहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन २५ गते । रामचन्द्र मन्दिर जीर्णोद्वारा एवं सम्वर्धन समितिलाई दुई लाख रुपियाँ राशिको डा. बलराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार–२०८२ प्रदान गरिएको छ । 

गलेश्वर आश्रम देवघाटका पीठाधीश श्री १००८ स्वामी आत्मानन्द गिरीले सो पुरस्कार आइतबार प्रदान गर्नुभएको हो । डा. बलराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानद्वारा बत्तिसपुतलीस्थित राममन्दिरमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष डा. गोविन्द टण्डनलाई सो पुरस्कार प्रदान गरिएको हो । 

२०५२ सालमा स्थापित सो पुरस्कार यसपटक आध्यात्मिक चिन्तन, संस्कृति र सम्पदाको संरक्षणमा योगदान दिएवापत रामचन्द्र मन्दिरलाई प्रदान गरिएको प्रतिष्ठानका सदस्यसचिव रुपा दीक्षित जोशीले जानकारी दिनुभयो । 

कार्यक्रममा स्वामी आत्मानन्द गिरीले नेपालमा महिला शिक्षा, सशक्तिकरण, सामाजिक सेवा र अध्यात्मिक ज्ञानको प्रवर्धनमा अंगुरबाबा जोशीले गर्नुभएको योगदानको चर्चा गर्नुभयो।

स्वामी गिरीले महिलालाई गुरुकुलीय संस्कृति शिक्षा दिइनुपर्ने महान विचारसहित अंगुरबाबा जोशीले गार्गी संस्कृति विद्यालय स्थापना गर्नुभएको स्मरण गर्दै त्यस विद्यालयलाई आफूले अभिभावकत्व लिएको बताउनुभयो । संस्कृतिविद् डा. गोविन्द टण्डन, साहित्यकार रमा शर्माले सामाजिक क्षेत्रमा अंगुरबाबाले दिनुभएको योगदानको चर्चा गर्नुभयो ।